कभर स्टोरी

उपनिर्वाचनको नतिजा आउने क्रम जारी

By Bala Adhikari

December 01, 2019

काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको हिजो सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । उक्त निर्वाचन अन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भइ सकेको छ । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र चार वडाध्यक्ष पदको निर्वाचनको मतगणना भने जारी रहेको छ ।

हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली कांग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् । पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका हुन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएका छन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी हुन सफल भए । सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएका छन् ।