समाचार

प्रदेश सभा र केन्द्रको चुनाव सफल पार्न सबै दल एकजुट हुनुपर्ने : मन्त्री बस्नेत

By Bala Adhikari

September 03, 2017

भदौ १८ । संविधान कार्यान्वनका लागि प्रदेश सभा र केन्द्रको चुनाव जरुरी रहेको सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले बताएकी छिन्  ।

भक्तपुरमा राधेश्याम जोन्छे प्रतिष्ठानको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले अब हुने दुवै चुनाव सफल बनाउन सबै दलका नेता एकजुट भएर लाग्नुपर्ने बताइन् । मन्त्री बस्नेतले प्रदेश तथा केन्द्रको चुनावमा नेपाली काँगे्रसको जित सुनिश्चित पार्नका लागि पहिलाका कमीकमजोरीलाई औल्याई सच्याएर अगाडि बढ्नका लागि कार्यकर्तालाई आग्रह गरेकी छिन् ।

उक्त कार्यक्रममा मन्त्री बस्नेतले राधेश्याम जोन्छेलाई शहीद घोषणा गर्नका लागि पहल गर्ने बताइन् । कार्यक्रममा सभासद् मनमोहन भट्टराईले प्रजातन्त्रको पहरेदार काँग्रेसमात्रै भएकाले काँग्रेस कार्यकर्ताले विगतका घातअन्तर्घातका विषय छाडेर एक ढिक्का भई अगाडि बढ्नुपर्ने बताए ।

राधेश्याम जोन्छे प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राधेश्याम जोन्छेको योगदानको चर्चा समेत गरिन् ।