अन्तर्वार्ता

ललितपुर महानगर बासीले स्थानिय सरकारको महसुस गर्न पाएका छन् उपप्रमुख : गीता सत्याल

By Bala Adhikari

December 06, 2019

उपत्यका भित्र रहेको ललितपुर महानगरपालिकाले अन्य महानगरको तुलनामा निकै विकासका कामहरु गर्दै आएको छ । जनअपेक्षा अनुरुप हरेक कामलाइ चुस्त दुरुस्त बनाउनका लागि सबै तहमा रहेका प्रमुख र उपप्रमुखबिच समन्वय र सहकार्य अपरिहार्य हुन्छ जुन कुरा सबै ठाउँमा भएको पाइदैन । तर यस महानगरमा प्रमुख र उपप्रमुखको लगनशिलता र मेहनतका कारण विकासका काममा महानगर निकै अघि नै छ । ललितपुर महानगरमा स्थानीय जनप्रतिनीधिको रुपमा निर्वाचित भएर आए यता यस महानगरपलिकाकी उपप्रमुख गीता सत्यालले धेरै जनताको घर दैलोमै पुगेर जनतालाई सेवा दिँदै पुण्यको काम गर्दै आउनु भएको छ । आफ्नो महानगरका जनतालाई कुनै कुरामा पनि अप्ठ्यारो नपरोस् र उनीहरुले स्थानीय सरकार साँचै न छ भन्ने अनुभूति पाउनुपर्छ भन्ने उहाँको मूल ध्यये रहेको पाइन्छ । जनताकै कामका लागि आफुलाई समर्पण गर्दै आउनु भएकी उपमेयर सत्याल भन्नु हुन्छ हामी निर्वाचित भएर आए पछि अहिलेसम्म सयमा ७० प्रतिशत काम जनअपेक्षा अनुरुप गर्न सफल भएका छौं । जन अपेक्षाहरुलाई सम्बोधन गर्न महानरपालिका सक्षम हुँदै गइरहेको बताउने उपमेयर गीता सत्यालसँग लोकसत्ता डटकमका लागि जानुका बरालले गरेका कुराकानीको सारसंक्षेप :

तपाई ललितपुर महानगरपालिको उपप्रमुखमा निर्वाचित भएको दुई वर्ष बितिसकेको छ । यस अवधिमा तपाईलाई कत्तिको जन अपेक्षा अनुरुप काम गर्न सकेको लागिरहेको छ ?

ठोकुवा गर्न नसके पनि सयमा ७० प्रतिशत काम जनअपेक्षा अनुरुप काम नै गर्न सकेका छौं भन्ने लागेको छ ।

तपाई निर्वाचित भएर आउनु हुँदाको अवस्था र आजको अवस्थामा के के फरक पाउनु भएको छ ?

तुलनात्मक रुपमा भन्नुपर्दा थुप्रै भिन्नता पाएकी छु । अर्थात् जुन बेला हामी निर्वाचित भएर महानगरमा पदस्थापन गर्दै थियौं, त्यो बेला भनेको १६ वर्षपछि स्थानीय तहले जनप्रतिनिधि पाएको थियो । त्यो पनि पूरै कानूनी संरचनालाई पुनःसंरचना गरेर । कानूनी रुपमा नै स्थानीय तहको पहिचन फेरिएको अवस्था थियो । हामी पनि जनप्रतिनिधि मात्र निर्वाचित भएका थियौं । तर कानूनी रुपमा सून्य जस्तै अवस्था थियो, त्यो । अब त्यस्तो छैन । स्थानीय तह आफ्ना निर्णयहरु गर्न आफैं सक्षम भइसकेको अवस्था छ । महानगरपालिकाको प्रशासनिक संरचनामा नै आमूल परिर्वतन भएको छ । जन अपेक्षाहरुलाई सम्बोधन गर्न महानरपालिका सक्षम हुँदै गइरहेको छ । बरु हाम्रो चुनौति भनेका सीमित स्रोत–साधनमा असीमित जन चाहनाहरुलाई संबोधन गर्नु पर्ने हुन्छ । त्यसलाई पनि हामीले प्राथमिकीकरण गरेर विस्तारै संबोधन गर्दै अगाडि बढ्ने रणनीति तय गरिसकेका छौं ।

जनताले देख्ने र अनुभूति गर्न सक्ने खालका केही विकासका कामहरु पनि भइरहेका छन् ?

निश्चित पनि भएका छन् । कोपुण्डोलदेखि जावलाखेलसम्मको सडकको दायाँ÷बायाँ हुर्नु भयो भने मात्र पनि त्यो देख्न सक्नुहुन्छ । बाँच्नका लागि स्वच्छ वातावरण नै जनताको पहिलो आवश्यकता हो भनेर ललितपुर महानगरपालिकाले सडकको दुबै किनारालाई हरियाली बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको र हरियाली व्यवस्थापन भइसकेको छ । साइकललेन निर्माण कार्यले पनि प्राथमिकता पाइरहेको छ । हामी स्थानीय तहमा प्रवेश गर्दैगर्दा महानगरपालिका र उसको कार्य क्षेत्र करीब करीब बेबारिसे जस्तै थियो र सडकको अवस्था पनि त्यस्तै थियो । त्यसको अन्त्य मात्र भएको छैन, जनप्रतिनिधिका नाताले नवनिर्माण र विगतमा निर्माण भइसकेका भौतिक संरचना र सम्पदा संरक्षणको स्वामित्व स्थानीय तहले लिएको छ । निर्वाचनताका जनता समक्ष जुन बचनबद्धता गरेका थियौं, ती बचनबद्धताहरु एक पछि अर्को गरी पूरा गर्दै जाने योजना बनाएका छौं र हामीले जनता समक्ष गरेका संकल्पहरु पूरा गरेर नै छाड्ने छौं । अर्को कुरा ललितपुर महानगरपालिकालाई धुलोमुक्त शहर बनाउने हामीले घोषणा गरेका थियौं र त्यसलाई कार्यान्वयन गर्ने क्रममा दुईवटा ब्रुमर खरिद गरेर सरसफाईको कार्यलाई पनि हामीले तीब्रता दिएका छौं । हामी जुन बेला निर्वाचित भएर आएका थियौं र आज त्यो अवस्था छैन । तर सशतप्रतिशत कार्य गर्न सफल भयौं भन्ने नसके पनि काम भइरहेको छ र त्यो उपलब्धीमूलक पनि छ भन्ने लाग्छ ।

समाजको सबै वर्ग र अवस्थाका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि ललितपुर महानगरपालिकाले हाल के गरिरहेको छ ?

जब ललितपुर महानरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको उत्थानका लागि समन्वय समिति बन्यो तब हामीले आफ्नो काम थालिहाल्यौं । हालसम्म हामीले महानगरपालिका भित्र रहेका ३ सय ८० जना अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गरिसकेका छौं र महानगरालिका भित्र हुनु पर्ने विकास निर्माण, समस्या महिचान र व्यवस्थापनका कामहरु लगभग किनारा लाग्दै गएको अवस्था छ । यद्यपि हामीले धेरै काम गर्न बाँकी नै छ । महानगरालिकाको स्रोत र साधनले भ्याएसम्म जनताले अनुभूति गर्ने खालका कार्यहरु नै गर्दै जाने हाम्रो लक्ष्य रहेको छ ।

तपाई उप–प्रमुख हुनु भएको नाताले महानगरपालिकाको न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । हालसम्म समितिमा रहेर काम गर्दा कस्तो अनुभव गरिरहनु भएको छ ? वा न्यायका लागि महानरपालिकामा आउने अन्यायमा परेका जनतालाई कतिसम्म न्याय दिन सकेँ भने जस्तो लागिरहेको छ ?

सुन्दर प्रश्नका लागि धन्यवाद । स्थानीय तहमा न्याय निर्माण गर्ने निकाय भनेको अर्धन्यायिक निकायले नै हो । नेपालको संविधान २०७२ को धारा २१७ ले “स्थानीय तहमा उपप्रमुख सो समितिको संयोजक रहने छ” भनी किटान नै गरेको छ । त्यस्तै स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को ६५ ले दिएको अधिकारमा टेकर हामीले काम गरिहेको अवस्था छ । न्यायका लागि ललितपुर महानगरपालिकामा जति स्थानीय दाजुभाई र दिदीबहिनीहरु आउनु भएको छ, उहाँहरुलाई न्याय मिलेको छ भन्ने विश्वासमा हामी छौं । हिजो जन्मेर मृत्यु वरण गरिसक्दा पनि न्याय नपाउने अवस्था जुन थियो, त्यसको अन्त्य भएको छ र न्याय पाउन अब जनताले लामो समय प्रतिक्षा गर्नु पर्दैन । हामीले केही केशहरुलाई दुईदेखि चार हप्तासम्ममा नै टुङ्गाइदिने गरेका छौं । केही केशहरुलाई मात्र लामो समय लाग्ने गरेको छ । तर हामीले केशको प्रकृति र पीडितको अवस्थालाई केन्द्रमा राखेर फाष्ट ट्रयाकबाट पनि फैसला गरिदिने गरेका छौं । तर त्यो केशको गम्भिरताका आधारमा निर्भर गर्दछ ।

ललितपुर महानगरपालिकाको उप प्रमुख भएर जिम्मेवारी निर्वाह गरिरहँदा कस्ता कस्ता चुनौतिहरुको सामना गर्नु परिरहेको छ ?

काम गर्दै जाँदा चुनौतिहरुको सामना पनि गर्दै जानु पर्ने हुन्छ । तर मैले चुनौतिहरुलाई अवसरका रुपमा लिने गरेकी छु । त्यति कठिनाइ भने छैन ।

संघीयता कार्यन्यन हुने कतिको सम्भावना देख्नु हुन्छ ?

संघीयतालाई मज्बुद बनाउने जिम्मा तपाई हामी सबैको हो । संघीयता मज्बुद बनाउनका लागि तीनै तहका सरकारको बराबरी हात हुन्छ । सबै तहले आफुले पाएको अधिकार भित्र रहेर काम गर्न आवश्यक छ जस्तो मलाई लाग्छ । स्थानीय तहमा २२ वटा अधिकार दिइएको छ, त्यस्तै अधिकारहरु प्रदेशलाई पनि दिइएको छ अनि केन्द्रिय सरकारले पनि संघीयता बज्बुद बनाउनका लागि निकै अधिकारहरुको प्रयोग गर्न सक्छ । सबैलाई दिएको अधिकार एकैनासले पुरा गर्दै जाने हो भने अवश्य पनि संघीयता कार्यान्यनमा कुनै कढिनाई हुँदैन ।

लैङ्गिक समावेशी बजेट निर्माण गर्नका लागि यहाँले के कस्तो भुमिका निर्वाह गर्नु भएको छ ?

लैङ्गिक समावेशी वजेट निर्माण गर्नका लागि हामी तत्पर त छौ तर कतिपय कुराहरु काम गर्दै जाँदा धेरै कढिनाईहरु आउँछन् । त्यसलाई हामीले जती लैङ्गिक वजेट तयार पार्नु पर्ने हो त्यति मैले तयार गर्न सकिरहेको छैन । तथापी केही परिवर्तन भने भएका छन् ।

स्थानीय सरकार प्रदेश सरकार सँग अत्यन्त नजिक रहेर काम गर्नु पर्ने तर व्यावहारमा त त्यस्तो देखिन्दैन । के स्थानीय सरकारहरु प्रत्यक्ष रुपमा केन्द्रिय सरकरसँग नजिक रहेरै काम गरिरहेका छन ?

यो यथार्थ कुरा हो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार भएर जानु पर्ने ठाउँमा एक अर्कामा ठ्याक्कै सहकार्य नभएको हो की जस्तो मलाई पनि लाग्छ । तीनै तहको अधिकार केन्द्रले मात्र कब्जा गर्ने हो भने अन्य तहको अस्तित्व बाँकि रहदैन । हाम्रो ललितपुर महानगरपालिकाको हकमा उपत्यका भित्रकै नगरपालिका भएर होला दुवै सरकारसँगको समन्वय र सहकार्य उस्तै छ ।

यतिबेला महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ यस अवसरमा महानगरले के कस्ता कार्यक्रम तय गर्दै अघि बढिरहेको छ ?

राम्रो कुरा उढाउनु भयो । अहिले हामी लैङ्गिक हिंसाको अभियानमा छौं । हामीले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि शुरुवातीकै समयमा केही कार्यक्रमहरु तय गरेका थियौं । लैङ्गिक हिंसाका बारेमा समग्र नगरवासी दिदी बहिनीहरुबिच जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौं । लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमहरु अव छिटै गर्ने तयारीमा छौं ।

यस महानगर भित्रका महिलाका समस्याहरु महानगपालिकामा कतिको आउने गरेका छन् ?

घरेलु हिंसा सम्वन्धि समस्याहरु केही मात्रामा हामी कहाँ आए पनि अन्य मुद्दाहरु नगन्य मात्रामा आउने गरेका छन् ।

बजार अनुगमन कार्य प्रभावकारी रुपमा अघि बढ्न सकेन भन्ने जन गुनासो छ नी ?

हामीले साचे अनुरुप बजार अनुगमनमा कढाई गर्न सकेनौं की जस्तो चाहीँ मलाई पनि लागेको छ । बजार अनुगमन गर्ने कार्यलाई प्रभाबकारी बनाउने कोषिशमा नै छौं । बजार अनुगमन समिति बनाएर काम तिव्र गतिमा अघि बढ्नु पर्ने भए पनि हामीले सो समिति बनाउन सकिरहेका छैनौं त्यसैले पनि कामका केही सुस्तता देखिएको हुन सक्छ ।

यस महानगरभित्र आएका सेवाग्राहीले तत्कालै सेवा पाईरहेका छन् त ?

यो कुरा त सेवाग्राही बाट आउने कुरा हो हाम्रो तर्फबाट उहाँहरुलाई सेवा दिने कुरामा कुनै कसर बाँकी राखेका छौं जस्तो लाग्दैन । हाम्रो कार्यलय भित्र हुने हरेक गतिविधिलाई हामीले नजिकबाट नियाली रहेकाले कुनै समस्या छन् जस्तो चाहीँ लाग्दैन । जनताबाट कुनै कुरा आए र हाम्रा कुनै कमी कमजोरी रहेछन् भने हामी अझै सुधारीएर काम गर्ने अवसर प्राप्त गर्ने थियौं । हिजोको तुलनामा आज जनताले चाहे अनुरुप सेवा लिन पाए जस्तो मलाई लाग्छ ।

अन्त्यमा ललितपुर महानगरवासीलाई केही भन्न चाहानु हुन्छ ?

हामी जनप्रतिनीधिको रुपमा निर्वाचित भएर आए यता हामीले जनताकै लागि काम गर्दै आएका छौं । अहिले जे जति उपलब्धिहरु प्राप्त भएका छन् ती सबैको साथ सहयोगबाट मात्र प्राप्त भएका छन् । ललितपुरका जनताको साथ, सहयोग र सद्भावका कारण नै हामी आज यहाँसम्म पुगेका छौं । जनअपेक्षा अनुरुप काम गर्नका लागि हामी सदैव तत्पर छौं, सबैको सुझाब, सल्लाह र सहयोग यसै गरी प्राप्त गरीरहे हामीलाई अघि बढ्न अझै सहज हुने छ ।