ललितपुर, मंसिर २३ । महिला हिंसा विरुद्ध १६ दिन अभियान अन्तर्गत वी मेन (We Men) क्लवसंगको अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा वी मेन क्लवमा आवद्ध विद्यार्थीहरुले ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल र सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीसंग महिला हिंसा रोक्नका लागि महानगरको के कस्तो पहल छ भनेर प्रश्न गरेका थिए ।
वी मेन क्लवमा आवद्ध विद्यार्थीहरुको प्रश्नको जवाफ दिंदै उपप्रमुख गीता सत्यालले भनिन्,‘समाजमा छोरा र छोरीमा विभेद गर्ने चलन छ, छोरालाई वोर्डिङ स्कुलमा पढाउने र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रचलन पनि छ, निर्णय गर्ने प्रक्रियामा पनि छोरी मान्छेले गर्न सक्दैन भनेर मनोवल घटाउने कार्य पनि भइरहेको छ, यस्तो विभेदलाई हटाउनु आवश्यक छ ।’ महिला हिंसाका पीडकलाई कार्वाही गर्नका लागि पीडितले नै आफूमाथि भएको हिंसाको घटना बाहिर ल्याएर कार्वाही गर्न सहयोग गर्नुपर्ने उपप्रमुख सत्यालले जोड दिइन् ।
ब्राइटफ्युचर इन्टरनेशनल कलेजकी विद्यार्थी इच्छा सापकोटाले महानगरभित्र रहेका विभिन्न कार्यालयहरुमा काम गर्ने उच्चस्तरका कर्मचारीबाट महिला हिंसा भयो भने त्यसलाई रोक्न के पहल गर्नुहुन्छ ? भनी सोधेको प्रश्नको जवाफ दिंदै उपप्रमुख सत्यालले भनिन्, ‘महानगर होस्, या अन्य सरकारी कार्यालय होस्, महिला होेस् या पुरुष, जो भएपनि कानून बमोजिम कार्वाही हुन्छ ।’ सरकारी अधिकारीबाट भएको हिंसालाई सरकारी जिम्मेवारी दुरुपयोग अन्तर्गतको हिंसामा पर्ने हुँदा त्यही अनुसार कार्वाही हुने उपप्रमुख सत्यालले वताइन् ।
त्यस्तै ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेश कार्की महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाएर महिला हिंसा न्यूनीकरणका लागि पहल गर्नु पर्ने वताए । संयोजक कार्कीले भने,‘ महिलाहरु अत्मनिर्भर र सक्षम भएपछि मात्रै यस्ता हिंसा हट्न सक्छ ।’ ‘समानताको पुस्ताः बलत्कार विरुद्ध एैक्यबद्धता’ भन्ने नाराका साथ यो वर्ष महिला हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन भैरहेको छ ।
महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध संसारभर बहस, छलफल र ऐक्यबद्धताका लागि संयुक्त राष्ट्र संघले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान को रुपमा मनाउँदै आइरहेको छ । नेपाल सरकारले महिला उपर हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी, १९७९ लाई सन् १९९१ मा अनुमोदन गरिसकेको छ । पित्तृसत्तात्मक समाजमा महिला तथा बालिकाहरुलाई कमजोर र दोस्रो दर्जाको नागरिक समान व्यवहार हुने गरेको छ ।
धर्म, संस्कार, संस्कृति, रीतिरिवाज आदिका नाममा हानिकारक रीतिरिवाजको प्रचलनका कारण महिला, किशोरी र बालिकामाथिको दमन हजारौं वर्षदेखि महिलामाथि भए गरेका छन् । यसवर्ष समानताको पुस्तास् बलात्कार विरुद्ध ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र Orange the World: GenerationEquality Stand against Rape भन्ने अन्तर्रा्ष्ट्रिय नाराका साथ १६ दिने अभियान विश्वभर मनाईंदै छ । १६ दिने अभियान अन्तर्गत अभियानको पहिलो दिन नगरका उप–प्रमुख गीता सत्याललाई वीमेन क्लबका प्रतिनिधिले सेतो रिबन लगाइदिएर अभियानको सुरु भएको थियो ।