कभर स्टोरी

जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुने : परराष्ट्रमन्त्री महरा

By Bala Adhikari

September 03, 2017

काठमाडौँ, भदौ १८ । नेपाल–भारतबीच कायम जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिबिम्बित हुनुपर्ने उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

नेपाल भारत महिला मैत्री समाजद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतका जनता–जनताबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए । सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुने बताउँदै परराष्ट्रमन्त्री महराले मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैं प्रवद्र्धन गर्नुपर्ने बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्ने कुरामा जोड दिँदै उनले भारत अग्रेजको समयमा नभएको र नेपाल पनि राजामहाराजाको समयमा नरहेकाले राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्ने बताए ।

दुई छिमेकी मुलुकको सम्बन्धलाई बलियो बनाउन भएका क्रियाकलापलाई जनतासम्म पुर्याउन आफुले सधैं सहयोग गर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य र विकास निर्माणको कार्यमा नेपाललाई भारतले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । कार्यक्रममा भारतीय दूतावासका डेप्युटी चिफ अफ मिसन तथा कार्यवाहक राजदूत डा अजय कुमार लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।