कभर स्टोरी

स्वर्ण जित्ने खेलाडीलाई २५ लाख दिनुपर्ने तरुण दलको माग

By Bala Adhikari

December 11, 2019

काठमाडौं, मंसिर २५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा व्यवस्थापकिय पक्षमा सम्बन्धित पक्ष चुकेको प्रष्ट भएको छ । सोही पक्षलाई मध्यनजर गर्दै नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार भएको भन्दै खेलकुद परिषद्का सदस्यसचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न सरकारसँग जोडदार माग गरेको छ ।

बुधबार अध्यक्ष जितजंग बस्नतेद्वारा जारी विज्ञप्तिमा साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार भएको भन्दै खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र खेलकुद मन्त्री जगत विश्वकर्मालाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग तक्काल छानबिन प्रक्रिया अधि बढाउन माग गरेको हो ।

सदस्यसचिव सिलवालले खेलाडीहरूलाई सुटिङ, साइक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरूको चाकरीका लागि दौरा सुरूवाल उपलब्ध गराएको भन्दै तरुण दलले क्त कुरालाई गम्भिर रुपमा लिएर छानविन अघि बढाउन माग गरेको छ ।

नेपाल तरुण दलले स्वर्ण जित्ने खेलाडीलाई जनही २५ लाख प्रदान गर्नुपर्ने सरकारसँग माग गर्दै उक्त कुरामा गम्भीर हुन अनुरोध गरेको छ । पदक जित्ने खेलाडीले देशको इज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तरुण दलले खेलाडी र खेलप्रति सम्मान गर्दै सरकार समक्ष पुरस्कारको व्यवस्था गर्न माग गरेको अध्यक्ष बस्नेतले जनाएका छन् ।