कभर स्टोरी

कतार एयरवेजको साथ मिल्यो ए डिभिजनलाई

By Bala Adhikari

December 13, 2019

काठमाडौं, मंसिर २७ । कतार एयरवेजको मुख्य प्रायोजनमा शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई हुने भएको छ । कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउने जनाइएको छ । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गर्ने भएको छ ।

यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ । एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताए । प्रतियोगितामा सहभागी हुने क्लबलाई तयारीस्वरुप प्रतिक्लब रु २० लाख उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताएका छन् । शनिबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबले सहभागिता जनउने भएका छन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौ हुनेले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । एन्फाका अनुसार हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्ने भएका छन् ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउने भएको छ । लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुने जनाइएको छ ।