काठमाडौँ, भदौ १९ । मिटरमा चलाउन नमान्ने ३८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।
यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, यात्रुबाट बढी भाडा लिँदै बोक्ने र अनेक बहाना बनाइ यात्रुलाई सेवा प्रदान गर्न नमान्ने ती ३८ ट्याक्सीलाई कारबाही गरेको हो । यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
महाशाखाले मिटर नजोडेका तीन, कागजपत्र नलिइ सवारी चलाएका दुई ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ ।
महाशाखाले यस अगाडि प्रिन्टर मेसिन नजोडी यात्रुलाई ठगेको आरोपमा १५० भन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।