कभर स्टोरी

आवश्यक कागजात हुँदा पनि विमानस्थलमा रोकिएकामा खेलाडीको विरोध

By Bala Adhikari

December 15, 2019

काठमाडौं, मंसिर २९ । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । आज सो स्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको बताएका छन् ।

प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो । प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम रहेको थियो ।

प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता रहेको छ । नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् । प्रशिक्षक कुँवरले खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनशिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भन्दै विभागप्रति आक्रोश पोखेका छन् । प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गरेका छन् ।