कभर स्टोरी

सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड

By Bala Adhikari

December 19, 2019

भक्तपुर, पुस ३ । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम भक्तपुरमा भएको छ । इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागीता जनाएका छन् ।

इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको स्पष्ट पारेका छन् । उनले यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्ने उद्देश्य रहेको जानकारी गराएका छन् ।

भेलामा स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व एवं पत्रकारको भूमिकाका विषयमा बुधबार एफएचआई ३६० का विज्ञ सल्लाहकार भोला भट्टराईको प्रस्तुति रहेको थियो । प्रस्तुतिका क्रममा उनले सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा आज पत्रकार हरिबहादुर थापा र किरण नेपालले स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व तथा पत्रकारको भूमिकाका विषयमा अनुभवसहितको विशेष प्रशिक्षण दिइने जनाइएको छ । इक्वेल एक्सेसले भूकम्प अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाल लगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।