कभर स्टोरी

संघर्ष समितिको माग सम्बोधनका लागि प्रेस काउन्सिलको बैठक बस्दै

By Bala Adhikari

December 19, 2019

काठमाडौं, पुस ३ । पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको जनाउँदै प्रेस काउन्सिल नेपालका विरुद्ध आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासंघ उपत्यकाका तीन शाखासहितको संघर्ष समिति र काउन्सिलका पदाधिकारीबीच हिजो मोटामोटी रुपमा वार्ता भएको छ ।

वार्ताका लागि काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संघर्ष समितिलाई बोलाएर वार्ताको पहल गर्ने भनिए पनि उनीसँग वार्ता नभएको पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन् । वार्ताको जिम्मा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाललाई अध्यक्ष श्रेष्ठले जिम्मा लगाएको उनले सुनाए ।

काउन्सिलका अध्यक्ष श्रेष्ठले आफ्नै कार्यकक्षमा छलफल गर्नुपर्ने कुरामा अडान लिएको तर संघर्ष समितिबाट वार्ताका लागि पुगेको टोलीले आफ्ना माग सम्बोधन भए पछि मात्रै ताला खोल्ने अडान लिए पछि अध्यक्ष श्रेष्ठसँगको वार्ता असफल भएको अध्यक्ष बुढाथोकीले बताएका छन् ।

उनका अनुसार हिजो पत्रिका वर्गिकरणका विषयमा संर्घष समितिले उठाएका कुराहरु पहिलो चरणमा राखिएको थियो । आज बस्ने काउन्सिलको बैठकले संघर्ष समितिले उठाएका विषयमा छलफल गर्दै टुङ्गो लगाउनका लागि एक समिति बनाएर काम अघि बढाउने र संघर्ष समितिसँग बसेर विवादित विषयहरुको टुङ्गो लगाइने अध्यक्ष बुढाथोकीले बताएका छन् ।

बुधबार भएको छलफलमा संघर्ष समितिका तर्फबाट संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासंघ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सो बैठकमा सहभागीता जनाएका थिए ।