कभर स्टोरी

आइचर दुर्घटना हुँदा नुवाकोटमा दुईजनाको मृत्यु

By Bala Adhikari

December 22, 2019

नुवाकोट, पुस ६ । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनाहुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।

नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नं को आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको छ । नायब उपरीक्षक थापाले आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको जनाएका छन् ।

उनले मृत्यु हुनेमा सुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको जानकारी गराएका छन् ।

प्रहरी नायव उपरीक्षक थापाले घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको जानकारी गराएका छन् ।

उनका अनुसार घाइते छ जनामध्ये दुई जनालाई काठमाडाँै ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।