कभर स्टोरी

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित

By Bala Adhikari

December 27, 2019

काठमाडौं, पुस ११ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि तोकिएको उक्त बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्काे बैठक निर्धारण गरेको उल्लेख गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएपछि सभामुख पद हाल रिक्त रहेको छ ।

नेकपा भित्र सभामुख छनोटमा देखिएको विववादका कारण नयाँ सभामुख छनोटमा ढिलाई भई रहेको छ । उपसभामुखले राजिनामा नदिनु र नयाँ सभामुख छनोटमा सहमति नजुट्नु नेकपामा अहिले चुनौतीको विषय बनेको छ । सभामुख कस्ले लिने भन्नेमा पूर्व माआबादी र पूर्व एमालेमा रस्सकस्सी चलिरहेको स्रोतको दावी छ । संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो दिनको बैठकको अध्यक्षता गरेकी थिइन् । अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा रहेका छन् ।