कभर स्टोरी

२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने तयारीमा सरकार

By Bala Adhikari

December 29, 2019

काठमाडौँ, पुस १३ । सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने तयारीलाई तिव्रता दिने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउने पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । गृहमन्त्री थापाले विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनालाई पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै एक जुट भएर लागि पर्नुपर्ने बताएका छन् ।

गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविश्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउने लक्ष्य र उदेश्यमा स्पष्ट हुनु जरुरी रहेको औंल्याएका छन् । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनले सुनाए । गृहमन्त्री थापाले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।