काठमाडौं, भदौ २० । आगामी पुसभित्रै मेलम्चीको खानेपानी काठमाडौं आइसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले दाबी गरेका छन् ।
रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मेलम्चीको खानेपानी काठमाडौंबासीले यही वर्षको पुसभित्रै खान पाउँछने दावी गरे । उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किमीमध्ये १.८ किलोमिटर बाँकी रहेको जानकारी दिँदै विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चित जस्तो भएपनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित गराएको दाबी गरे ।
मन्त्री यादवले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पालामा मेलम्चीको पानी काठमाडौं आउने कुरामा कुनै दुई मत नरहेको बताए । मेलम्चीको पानी यही दशैंभित्रै ल्याउने भनिएको भए पनि काम पूरा हुन नसकेकाले अब पुस महिनाभित्र आइपुग्ने दाबी गरिएको छ ।