भक्तपुर, पुस १६ । भक्तपुरको चाँगुनारायण नगरपालिका– १ मा निर्माण हुन लागेको वीर अस्पतालको विस्तारित संरचना निर्माण गर्ने पहिलो प्राथमिकता भएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताएका छन् । मन्त्री रावतले आज सो क्षेत्रको स्थलगत अनुुगमन गर्दै स्थानीयवासीसँग यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
अहिले रहेको संरचनाबाट तत्काल भोलिदेखि एक्स–रे सेवार प्रयोगशाला सेवालगायत शुरु गर्न निर्देशन दिएका छन् । अहिले प्रवाह रहेको सेवाबाट स्थानीयवासीले दुःख पाएको गुनासो आएपछि राज्यमन्त्री रावतले भोलिदेखि सेवा विस्तार गर्न निर्देशन दिएका छन् । विस्तारित भवन निर्माणका लागि ५२० रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भइसकेको छ ।
सांसद महेश बस्नेतले अहिले तत्काल संरचना निर्माणका लागि सडक, खानेपानी, विद्युत् र ढल निकालका लागि पहिलो काम शुरु गर्नुपर्नेमा जोड दिएका छन् । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम यसै आर्थिक वर्षमा गर्न लागिएको सांसद बस्नेतले बताएका छन् । त्यसका लागि बजेटको व्यवस्था भइसकेको छ । नगरपालिकाको १, २, ३ र ४ का स्थानीयले त्यहाँबाट सेवा लिने गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी गराएका छन् ।