कभर स्टोरी

मौसम बदलीका कारण उड्डयन क्षेत्र प्रभावित

By Bala Adhikari

January 03, 2020

काठमाडौं, पुस १८ । आज देशभरको मौसममा बदली भई रहेको छ । मौसम बदलीका काराण सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको छ । सामान्य वर्षातका कारण उड्डयन क्षेत्रमा समेत सामान्य प्रभाव परेको छ । विहान देखि बदली भएको मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अन्तर्राष्ट्रिय उडानमा खासै समस्या भने छैन ।

सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र ( भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा केहि समस्या भएको उनले सुनाए । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स(आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको जनाइएको छ । आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको बताइएके छ । उनले उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको जानकारी गराएका छन् ।

विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अहिलेको समयमा भएको वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले सबैलाई अपिल गरेको छ ।

पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । देशभर भएको मौसम परिवर्तनका कारण दैनिक जीवनयापनमा केही कठिनाई हुने हुनाले सबै सुरक्षित रुपमा रहनु पर्ने बताइएको छ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ ।