कभर स्टोरी

पार्टी बलियो बनाउने भूमिका निर्वाह गर्न सभापति देउवालाई कोइरालाको आग्रह

By Bala Adhikari

January 03, 2020

काठमाडौं, पुस १८ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी विलिन हुन समय नलाग्ने संकेत गरेकी छिन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै गुटको राजनीति नगर्न समेत अनुरोध गरेकी छिन् ।

सत्तामा रहेर काम गरिरहेकाहरुले गरेको गल्तीलाई इंगित गर्दै खबरदारी गर्नु पर्ने बेलामा आफुभित्रै लडिरहनु दुर्भाग्यको कुरा रहेको उनले बताइन् । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न खेलमा लागि परेको आरोपसमेत लगाएकी छिन् ।

उनले भनिन्, पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ, । “पार्टी्भित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।” काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने सबैको दायित्व नै बन्छ । सरकारले बाटो विराएर जनताको भावना विपरीत काम गरिरहँदा प्रतिपक्ष रमिते बन्न नहुँने उनको भनाई छ ।