जिल्ला-विशेष

“चेतकुमारी–रामनारायण थापा” स्मृति प्रतिष्ठानले गर्यो जेष्ठ नागरिक सम्मान तथा राधा–कृष्ण मन्दिरको सिलान्यास ।

By Bala Adhikari

February 17, 2020

४ फागुन २०७६ , ( १६ फेब्रुअरी , २०२०)

लोकसत्ता सम्बाददाता, ललितपुर ।

“चेतकुमारी–रामनारायण थापा” स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १ गते गोदावरी नगरपालिका १ को स्थानीय गाेदामचाैर स्थित चौथलीमा एक समारोह बीच श्री राधा–कृष्ण मन्दिरको शिलान्यास गरिनुका साथै ४ जना ९० बर्ष नाघेका बरिष्ठ नागरिकहरुलाई सम्मान गर्याे।

    

स्थानिय पूर्व कीट बिज्ञान बिशेषज्ञ डा.भीमसेन के.सी.को प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बरिष्ठ जेष्ठ नागरिकहरु सर्वश्री पद्म ध्वज थापा , खड्ग बहादुर अधिकारी , इन्द्र बहादुर खड्का (नारायण खड्का) तथा गणेश बहादुर थापा लाई प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ संचारकर्मी/लेखक ध्रुब थापाले सम्मानित ब्यक्तिहरुलाई ढाका टोपी , फुलको माला सहित दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्नु भयो ।

स्थानिय समाजसेवी कृष्णकाजी खत्रीको सभापतित्वमा भएको सो सम्मान कार्यक्रम हुनु अघि प्रतिष्ठानका अध्यक्ष ध्रुब थापा र उहाँकी धर्मपत्नी सीता थापाले आफ्नो निजी जमीनमा स्थापना गर्न लागेको श्री राधा कृष्ण मन्दिरको शिलान्यास बरिष्ठ जेष्ठ नागरिक खड्ग बहादुर अधिकारी लगायतले गर्नु भएको थियो ।

सो अवसरमा बरिष्ठ कीट बिज्ञान बिशेषज्ञ डा.भीमसेन के.सी.ले थापा परिवारले गाउँमा पहिलो प टक जेष्ठ नागरिकहरुको सम्मान गरेकोमा प्रशंसा गर्दै मन्दिर निर्माणको काममा स्थानिय सबैको समर्थन र सहयाेग रहने बताउनु भयो ।

सभापतिको आशनबाट समाजसेवी श्री कृष्णकाजी के.सी.ले बृद्ध–बृद्धाहरुको सम्मान हुनु गाैरवको बिषय हो भन्दै राधा–कृष्ण मन्दिर आकर्षक र उपयुक्त ठाउँमा बन्न लागेकोमा खुसी ब्यक्त गर्नु भयो ।

कार्यक्रम, प्रतिष्ठानका सदस्य प्रमुख सेनानी डा.राजकुमार थापाको संयोजनमा भएको थियो ।

दश बर्ष अगाडी आफ्नी माता चेतकुमारी तथा बुबा रामनारायण थापाको स्मृतिमा जेठा छोरा बरिष्ठ संचारकर्मी/लेखक ध्रुब थापाको अध्यक्षतामा स्थापना गरिएको “चेतकुमारी–रामनारायण थापा” स्मृति प्रतिष्ठानले स्थानीय बिभिन्न बिध्यालयका बिपन्न छात्र–छात्राहरुलाई प्रत्यक बर्ष लत्ता–कपडा , कलम कापी लगायतका सहयोग निरन्तर पुर्याउँदै आएको छ ।