यसवर्षको बडादशैको टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज १४ गते शनिवार विहान ११ बजेर ५५ मिनेट जादा सबैभन्दा उत्तम साइत भएको जनाएको छ ।
असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् । असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको र असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ ।
फूलपाती कुल परम्परा अनुसार भित्र्याइने भएकाले यसको साइत नदिइएको समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ ।
विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ छ भने सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए । टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुने जानकारी दिए ।
असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्वको समापन हुन्छ ।