कभर स्टोरी

लकडाउनको पूर्ण पालना गर्न नगरपालिका फोरमको अनुरोध

By Bala Adhikari

March 24, 2020

ललितपुर , चैत्र ११ । उपत्यका नगरपालिका फोरम, काठमाडौंले कोरोना संक्रमणको प्रकोप नियन्त्रण भन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीहरुसँग अनुरोध गरेको छ । फोरम उपत्यकाभित्रका दुई वटा महानगरपालिकासहित १६ वटा नगरपालिकाहरुको संस्था हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै फोरमले नेपाल सरकारको उक्त निर्णय समय सापेक्ष भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका सम्पूर्ण नगरवासीलाई यस विषम परिस्थितिमा धैर्य गर्दै कोरोना विरुद्धको महाअभियानलाई सफल पार्न र विजय हासिल गर्न घरमा नै बसेर सहयोग गरिदिन अनुरोध गर्दछौ ।’ सरकारको निर्देशनको वेवास्ता गर्दै घर बाहिर जाने, समूहमा जम्मा भई गफ गर्ने जस्ता लापरवाही नगर्न समेत फोरमले अनुरोध गरेको छ ।

विज्ञप्तिमा हालसालै विदेशबाट आउनुभएको कोही टोल छरछिमेकमा भएका स्थानीय निकाय, जनप्रतिनिधि, वा सुरक्षा निकायलाई खबर गरिदिन पनि उपत्यकावासीसँग अनुरोध गरिएको छ । विश्वका केही मुलुकमा सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिएको स्मरण गर्दै संयमता अपनाउन आग्रह गरिएको छ ।

उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, फोरम उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र फोरम सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकावासीलाई कोरोनाको बारेमा आधिकारिक संस्थाहरु नेपाल सरकार र विश्व स्वास्थ्य संगठनका सूचनाहरु मात्रै विश्वास गर्न आग्रह गरिएको छ ।