जिल्ला-विशेष

दुई वटा नागरिकता भएको भन्दै एमाले वडा अध्यक्षका उम्मेदवारमाथि उजुरी

By Bala Adhikari

September 08, 2017

बारा भदौं २३ । स्थायिन तहको निर्वाचनमा नेकपा एमालेबाट वाराको निजगढ नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार जयराम कुनवरसँग दुइवटा नागरिकता रहेको पाइएपछि उनी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उनले किर्ते गरेर दुई पटक गरि दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार चौधरीले कुनवर विरुद्ध उजुरी दिएका हुन् । नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लखेको निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिएका छन् ।

कुनवरले २०६० बैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुमरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक अर्को जयराम कुनवर नाममा २०६३ माघ २१ गते घुम्ती ३३३१०११ र ५९९ नम्बरको नागरिकता लिएको उजुरीकर्ता चौधरीको दाबी छ । कुनवरले उम्मेदवारी दर्ता गर्दा २०६८ बैशाख २९ गते निकालेको नागरिकता प्रतिलिपी पेश गरेका छन् । यसैविच कलैया उपमहानगरपालिकामा २ जना, जितपुर सिमरा उपमहानगरपालिकामा एक जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।

कलैया उपमहानगरपालिका वडा नं. १० का एमालेका वडाध्यक्षका उम्मेदवार कपिलदेव प्रसाद कानु र नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार धनसुन्दर महतो कोइरीमाथि पनि उजुरी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराएका छन् । वडाध्यक्षका उम्मेदवारहरु अदालतबाट सजाय पाएको उजुरी वडाध्यक्षका उम्मेदवार नुर हसन मियाले दिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

त्यसैगरी जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १० का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद सिंह माथि पनि उजुरी परेको छ । वडाध्यक्षका उम्मेदवार सिंहले शिक्षकबाट अवकाश भई पेन्सन खाइरहेको विषयसहितको उजुरी परेको निर्वाचन अधिकृत वीरप्रसाद भुर्तेलले जानकारी दिएका छन् । उनिहरुलाई शुक्रबार ११ बजेसम्म जवाफ पेश गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले बताएका छन् ।