Uncategorized

राष्ट्रपति को आडमा प्रधानमंत्री को चुरिफुरी,,

By Bala Adhikari

April 25, 2020

बाला अधिकारी,संपादक राष्ट्रपति विद्यादेवी भण्डारी आफु अनुकूल भएको आडमा प्रधानमन्धी के..पी. शर्मा ओलीको चुरिफुरि बढेको छ । आफ्नो प्रतिस्पर्धी र प्रतिद्वन्द्वीहरुलाई किनारामा लगाउने मौका यही हो जस्तो गरी प्रधानमन्त्री ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” अध्यादेश जारी गरेर जग हँसाएका मात्र छैनन् न्यूनतम राजनीतिक सुझबुझ समेत गुमाउन थालेको उनैको हतोसाहितपूर्ण कार्यले सावित गरिदिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन नचलेका बेला अत्यावश्यक कानूनको अभाव पूर्ति गर्नका लागि सरकारले अध्यादेश मार्फत ल्याउने कानून ल्याएर उनले बेमौसमी बाजा त बजाएकै छन् । तर सरकारलाई काम गर्न बाधा नै पर्ने अवस्था केही पनि नभएको र विधयेकहरुको औचिल्य पनि नभएका बेला नितान्त राजनीतिक प्रकृतिका ती दुई विधयेक प्र.मं. ओलीले रातारात ल्याएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरुलाई देखाउनकै लागि मात्र पनि ती दुई विधयेक ल्याएको प्रतित हुन्छ । राष्ट्रपति आफु अनुकुल भएको देखाउन र आफूले जे चाह्यो, त्यही गर्न सक्ने हैसियत रहेको शक्ति प्रदर्शन गर्ने मन साय प्र.मं. ओलीको देखिन्छ । यदि यो सत्य हो भने तिनै दुई अध्यादेशको जारी मितिबाट प्र.मं. ओलीको शक्ति क्षिण हुँदै गयो भन्ने बुझे हुन्छ । ओलीको यस अप्रत्यासित तर पूर्ण राजनीतिक प्रतिशोध साधनाका लागि ल्याइएका ती दुई अध्यादेशले उनी हतास मनिस्थितिमा रहेको र आफ्नै पार्टि भित्रका मित्रहरुप्रति विश्वस्त हुन नसकेको दर्शाएको छ । अब तीनै दुई अध्यादेशको जगमा उभिएर उनीका पार्टी भित्र नयाँ ध्रुविकरण हुने र त्यस ध्रुविकरणले प्र.मं. ओलीलाई किनारा लगाउने छ । यो राजनीतिक आँकलन गर्न नसक्दा र केवल सत्ता स्वार्थमा अँन्धो भएर शक्तिको गलत प्रयोग गर्दा प्र.मं. ओली आफुले खनेको खाल्टोमाा प्रथमतः आफै पर्ने देखिन्छ । प्र.मं. ओलीले पूर्ण कार्यकाल सत्तामा टिकिरहन चाहेका हुन् भने प्रथमत आफ्नैदल मित्रका भित्री शक्तिको पहिचान गरी उनीहरुको उचित परिचानल गर्ने वातावरण तयार गर्नु पर्थ्यो तर व्यवहारमा त्यस्तो देखिएन । कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो विश्व नै कोरोना भाईरसको महामारीबाट कसरी मानव जातिलाई सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा लागेको र नेपालले पनि सो संकटको सामना गरिरहको बेला कोहीलाई केको धन्दा घर जवाईलाई खानकै धन्दा भन्ने नेपाली उक्तिलाई चरित्रार्थ गर्दै प्र.मं. ओली भने राष्ट्रपतिमा निहित अधिकार अनुकूल छ भन्दैमा गलत प्रयोगमा उत्रिएका छन् । उनको यो अपरिपक्क र हतास मनस्थितिको काँचो र अराजनैतिक हर्कतले अन्ततः उनीलाई नै सिद्धाउने रेखांकन गरेको छ ।