कभर स्टोरी

महावाणिज्य दूतावासको उपप्रधानमन्त्रीद्वारा उद्घाटन

By Bala Adhikari

September 10, 2017

काठमाडौँ, भदौ २५ । चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।

ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कार्यालय खोल्न मद्दत गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल र सुदृढ बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।

उपप्रधानमन्त्री महराले यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताएका छन् । उनले आउने दिनहरुमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरे ।

विभिन्न व्यवसायमा गरि झण्डै २०० नेपाली व्यापारीहरु यहाँ संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् । उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको जानकारी जगाइएको छ ।