काठमाडौँ,नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले स्वर्गीय बिपी कोइरालाले प्रजातन्त्रको स्थापना, राष्ट्रियता र समाजवादका पक्षमा देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँको यो योगदान कदापि विर्सिन नहुने बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा ३८ औँ विपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित बृक्षारोपण कार्यक्रममा मन्तव्य राख्दै सहमहामन्त्री डा महतले सो धारणा राखेका हुन् । उनले भने– नेपालमा लोकतन्त्रको जग बसाल्ने काम विपी कोइरालाले गर्नुभएको हो, नेपालमा लोकतान्त्रिक पद्दतिको शुरुआतका लागि बिपी कोइरालाले पु¥याएको योगदानलाई नेपालले कहिल्यै विर्सन सक्दैन । यो मुलुकमा राणाको जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्रको उदयका लागि बिपी कोइरालाले निर्वाह गरेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्ने उनको भनाई थियो । उनले विपी कोइराला एक युगमा एकजनामात्र जन्मिने युगपुरुष भएको स्मरण पनि गरे । डा.महतले भने– विपीजस्ता महापुरुषहरुका विचार सधैँ अमर हुने भएकोले हामीले त्यसलाई अनुशरण गरी अघि बढ्नुपर्छ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफू विपीजस्ता प्रजातन्त्रवादी नेताका अनुयायी भएर रहनका लागि उहाँका आदर्शहरुको पालना गर्नुपर्ने उनले सुझाए । विपी जहिले पनि सत्यको पक्षमा र राष्ट्रियता र प्रजातन्त्रको पक्षमा मात्र उभिएको स्मरण डा.महतले गरे । उनले भने– विपी कोइराला अहिलेको सरकारले जस्तो तथाकथित आफ्नामात्र एजेण्डा र सस्तो लोकप्रियतामा कहिल्यै विश्वास गर्नुभएन । देश र जनताको हितमा जे हुन्छ सधैँ त्यसको मात्र पक्षमा लाग्नुभयो । विपीको संगतमा आफू रहेका बेलाको स्मरण गर्दै उनले भने– विपीले देश र जनतालाई के ले हित गर्छ र कसरी राष्ट्रियता बलियो हुन्छ भन्ने कुरामा मात्र उहाँले ध्यान दिनुहुनथ्यो । जस्तो कि कहिलेकाहीँ उहाँका विचारप्रति काँग्रेसका कार्यकर्ताहरुले नै सवाल जवाफ गर्थे तर पनि उहाँले सबैका कुरा सुनेर, सबैलाई शान्त पार्नुहुन्थ्यो र सत्यको पक्षमा आफू एक्लो बृहस्पती भएर पनि रहन सक्ने अडान लिनुहुन्थ्यो । सहमहामन्त्री डा.महतले भने– त्यसैले त उहाँलाई त्यसबेला कस्ता कस्ता गाली दिनेहरुले पनि अहिले आएर एकजना राष्ट्रवादी नेताका रुपमा सम्मान गर्छन् । वर्तमान सरकार र नेकपाका क्रियाकलापसँग तुलना गर्दै डा.महतले भने– अहिलेको सरकार र नेपाली कम्युनिष्टहरु झुठो प्रचार गर्छन्, आफू अनुकुलका एजेण्डा सेट गर्छन् र सारा मिडियाको दुरुपयोग गरेर काँग्रेसका विरुद्धमा प्रचार गर्छन् । विपी कोइरालाको महान आदर्श र उहाँको राष्ट्रवादको सोँच र परिभाषाका अगाडि अहिलेको सरकारले अलाप्ने गरेको राष्ट्रवाद नक्कली हो– डा महतले भने । अहिले सरकारले समृद्धिको नारामात्र लगाएको तर त्यतिबेला विपी कोइरालाले देशलाई समृद्ध बनाउने कामै थालेको र नेपाल कसरी समृद्ध हुन्छ भन्ने खाका कोर्नुभएको यथार्थ सबै नेपाली नागरिकमा जगजाहेर नै रहेको उनले बताए । विपी कोइरालाको अभाव पूर्ती गर्नका लागि नेपाली काँग्रेसको सामुहिक बल आवश्यक छ उनले भने । विपीको विचारलाई अघि लाएर कुनै पनि व्यक्ति नभएर पार्टी र विचार ठूलो हो भन्ने आम धारणाका साथ अघि बढ्न सक्यौँ भने यसले विपीप्रति सच्चा सम्मान हुन्छ र नेपाली काँगेस पनि बलियो हुन्छ उनले भने । अहिलेको सरकारले कानुनी शासनको खिल्ली उडाएको, महामारीको समयमा पनि जनतालाई न्याय गर्न नसकेको, देश यस्तो संकटमा फसेका बेला सत्ताधारी दल भने आफ्नै पद र शक्तिका लागि झगडामा तल्लिन रहेको र अझै पनि सरकारले समृद्धिको सपना बाँड्न नछोडेको आरोप सहमहामन्त्री डा.महतले लगाए । उनले भने– ‘सरकारले केवल भोट बटुल्नका लागि जसरी निर्वाचनका बेलामा आस्वासनका पोकाहरु बाँडेको थियो, अहिले पनि उ सपनामै छ, उठेको छैन, अब यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन । नेपाली जनताको समस्या र आवश्कताको अगुवाई गर्ने पार्टी नेपाली कांग्रेस नै हो भन्दै डा. महतले यतिखेर देशको कुनाकाप्चाका नेपाली जनताले नेपाली कांग्रेसलाई सम्झिरहेकोले पार्टीलाई नयाँ शैली र उर्जाका साथ अघि बढाउन कम्युनिष्टको दुष्प्रचारका विरुद्धमा जाइलाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने हामी जनताका साथ गाउँगाउँ जाउँ र अहिलेको कम्युनिष्ट सरकारले गर्ने गरेको प्रोपोगान्डालाई मात्र सुनेर दृष्टिकोण नबनाउन आग्रह गरौँ, जनतालाई कुरा बुझाउँ, हामीले पनि आफ्ना कुरा राखौँ र उनीहरुका झुठ प्रचारको सशक्त रुपमा विरोध गरौँ ।