काठमाडौं / पुस १३ राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि प्रहार गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। चुनाव पनि नहुने र संसद पुनर्स्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने पौडेलले बताए।
तनहुँमा आज सरकारविरूद्ध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै पौडेलले कांग्रेसले लोकतन्त्र र संविधान रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए। प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषद अध्यादेश ल्याएको पौडेलको भनाइ छ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने र लोकतन्त्र तथा संविधानमाथि नै प्रहार गरेका छन्,’ उनले भने, ‘संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था छैन।’ अब मुलुकले चुनाव धान्न नसक्ने पनि उनले बताए। पाँच वर्षका लागि जनताले म्यानडेट दिएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरे पनि चुनाव नहुने उनको भनाइ छ।