खेलकुद

मुख्य मन्त्री कप भलिबल पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीलाई उपाधि,,

By Bala Adhikari

February 20, 2021

गौरव राइ,,

कास्की जिल्ला भलिवल संघ कास्कीद्वारा आयोजित “मुख्य मन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिता–२०७७” को उपाधि पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले जितेका छन् । पुरुषतर्फको फाइनल खेलमा स्याङजालाई ३–२ सेटले पराजित गर्दै तनहुँले उपाधि जितेको हो । महिलातर्फको फाइनल खेलमा म्याग्दीले पर्वतलाई सोझो सेटमा हराउँदै उपाधि उचालेको छ ।तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ पर्वतले म्याग्दीलाई ३- १ को सेटमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ । महिलातर्फ पनि तनहुँले कास्कीलाई ३-१ ले पराजित गर्दै तेश्रो स्थान हात पारेको छ ।

प्रतियोगिताको उपाधि विजेता पुरुष तथा महिला टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गरे । यस्तै उपविजेता बनेको टोलीले १–१ लाख प्राप्त गर्दा तेस्रो भएको टोलीले ५०–५० हजार प्राप्त गरेका छन् ।प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही र पुरुषतर्फ तनहुँका मिलन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भए।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्गजाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, स्याङ्गजाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले उत्कृष्ट सेटर, स्याङ्गजाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५–५ हजार प्राप्त गरेका छन ।

प्रतियोगितामा उपाधि विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ, राखेपका सदस्य राजेश गुरुङ लगाएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।