समाचार

सर्बोच्चले संविधान अनुसार नै फैसला गर्छ–नेता पौडेल

By Bala Adhikari

February 22, 2021

काठमाण्डौ,फगुन १० गते सुनसरीको भ्रमणपछि सप्तरीबाट यात्रा सुरु गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेस सम्मान यात्रा सुरु गरेका छन, आइतबर नेपाल प्रेस युनियन सप्तरीको अन्तरक्रियामा ‘मधेस सम्मान यात्राको’ घोषणा गरेका थिए ।

“२००७ सालको क्रान्तिमा मधेसका जनता र थुप्रै नेताहरुले अतुलनीय योगदान गर्नुभएको छ,” पौडेलले भने, “मधेस सम्मान यात्रा तिनै लोकतन्त्रका जग जनता अनि नेताहरुको सम्मानका लागि हो।” उनले भने पछिल्ला दिनमा कम्युनिष्टले जातीय अनि अन्य दलले क्षेत्रीय भावना भड्काएर विभाजनको प्रयत्न गरेको भन्दै कांग्रेसमा न्याय र पद्धति पनि छायामा परेको अबका दिनमा कांग्रेसले लिने बाटो तय गर्न मधेसका जनतासँग सुझाव लिने बताएका छन् ।

पौडेलले भने, “पार्टीले असंवैधानिक र अलोकतान्त्रिकभन्दै त्यसका विरुद्ध उभिने निर्णय गरेको छ । सर्बोच्चले संविधान अनुसार नै फैसला गरिहाल्छ ।” उनले प्रधानमन्त्री ओली आत्तिसकेको भन्दै अव अन्योल पनि छिट्टै अन्त्य हुने भएकाले कांग्रेसले के गर्ला भन्ने अन्योलमा पनि नबस्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

सप्तरीको हनुमाननगरबाट सोमबार आरम्भ हुने पहिलो चरणको मधेस सम्मान यात्रा महोत्तरीको गौशाला पुगेर आगामी १३ गते पूरा हुने पौडेलले बताएका छन् ।

पौडेलले हनुमाननगरपछि सप्तरीकै तिलाठी कोइलाडी जाने कार्यक्रम बनाएको छ। जुन गाउँ वीपी कोइरालाका सहकर्मीसमेत रहेका कांग्रेसका स्वगर्गीय नेता रामनारायण मिश्रको गाउँ हो । त्यहाँ पुगेपछि पौडेल सप्तरीकै बोदेबसाइन जाने कार्यक्रम बनाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेकै भोलिपल्ट सुनसरीको कार्यक्रममा गएका पौडेलले आजदेखि मधेस सम्मान नाम दिएर यात्रा शुरु गरेका हुन् ।