दृष्टिकोण

बहुआयामिक र साहसी व्यक्तित्व मित्रसेन दाहाल

By Bala Adhikari

February 22, 2021

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,

इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,,

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, बहुप्रतिभाशाली व्यक्तित्व मित्रसेन दाहालले ५६ बर्षको उमेरमा २०७७ फाल्गुन सात गते भौतिक संसार त्याग गर्नु भएको छ।समृद समाज र सम्मानित जीवन यापनका लागि समाज सेवी मित्रसेन दाहाल ले गरेको “जीवन र संघर्ष” सम्बृद र सम्मानित जीवन बाँच्नचाहने युवा पुस्ताका लागि स्वर्णाक्षरले लिपिबद्ध भएको जीवित दस्तावेज हो ।चाहे त्यो ओखलढुङ्गामा विद्यालय स्तरको विद्यार्थी जीबनमा गरेको संघर्ष होस् वा उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आएपछि गरेको संघर्ष होस् चाहे नेपाली काँग्रेसमा आबद्ध भएर राजनिति(वि.सं.२०३६देखि हालम्म)मा गरेको संघर्ष होस्।

उहाको संघर्ष आजका युवापुस्ताका लागि प्रेरणाको श्रोत बन्न पुगेको छ।मित्रसेन दाइले नेपाल विज्ञापन संघको स्थापना र नेतृत्व गर्न  देखि दर्जनौ साहित्यिक कृतिहरुको लेखन र प्रकाशन गरेर आफुलाइ अब्बल दर्जाको कसिमा खरो उतारी सक्नुभएको  छ।तेतिमात्र नभएर नेपाल प्रिन्टर्स  एण्ड ट्रेडर्स को–अपरेटिभ लि.को स्थापना गरेर नेपालको सहकारी अभियानको श्रीबृद्धिका लागि गरेको अथक प्रयास र योगदान होस् ,चाहे ती आफुभन्दा कम्जोर वर्गलाई अनौपचारिक रुपमा गरेका परोपकारी कामहरु हुन् वा संस्थागत रुपमानै जे.पी.प्रतिष्ठान(स्थापनाः२०५२) मार्फत गरेका आर्थिक, सामाजिक र शैक्षिक सशक्तिकरणका लोककल्याणकारी कामहरु हुन।चाहे सुष्माकोइराला मेमोरियल ट्रष्ट स्थापना गर्न पुर्र्याएको योगदान होस् वा जेष्ठ नागरिकहरुका लागि सुविधा सम्पन्न मैत्रीसेवाश्रमको परिकल्पना, निर्माण र सञ्चालन नै किन नहोस् ! ती समाजसेवी मित्रसेन दाहालले गरेका केही उदाहरणीय सामाजिक कार्यहरु मात्र हुन् ।एउटा मानिसका लागि माथि उल्लेखित मध्ये कुनै एउटा कार्यमा मात्र सफलता हासिल गर्न सफल हुँदा पनि सम्मानित जीवनका लागि पर्याप्त हुन्छ।तर उहाँमा यी सबै एकै व्यक्तिमा निहित भएको पाइन्छ।यो कुनै काल्पनिक कुरा नभएर उहाँले आफ्नो जीवनमा निर्माण गरेको व्यक्तित्व र कृतित्वको सजीव पिरामिड हो। अरु सबै कुरालाई बिर्सिएर जे.पी. प्रतिष्ठानबाट छात्रबृत्ति पाउने विद्यार्थीहरुको नामावलि मात्र संग्रह गर्ने हो भने पनि मोटो ग्रन्थ तयार हुन्छ । यद्यपि माथि उल्लेखित सबै विषयमा अलग–अलग ग्रन्थहरु तयार  हुनसक्छन् ।उहाँको मौलिक विशेषता भनेको जीवनका अनेक प्रतिकूलताहरुलाई अनुकूलतामा परिवर्तन गर्न सक्नु हो।अर्थात् उहाँ जुन बेला ओखलढुगांको तत्कालिन वरुणेश्वर गाविसको लामीडाँडामा जन्मनु भएको थियो, त्यो बेला आर्थिक, शैक्षिक र राजनीतिक स्वतन्त्रता थिएन। अशिक्षा, गरिबी र कुशासनले सिङ्गो नेपाल देश नै एक  प्रकारले अँन्धकारमय थियो । वाक तथा प्रकाशन र साँगठनिक स्वतन्त्र  मात्र नभएर आम नागरिकका लागि मुलुकमा कुनै प्रकारको स्वतन्त्रता पनि थिएन । समयको क्रमसंगै त्यसका बिरुद्ध उहाँ पनिआफ्ना अग्रजहरुसंगै हतियार र बारुद बिनाको लडाकू बनेर संघर्षको मैदानमा उत्रिनुभयो । नेतृत्वको चट्टानी अडान र  मित्रसेन दाहालहरुजस्तै लाखौं योद्धाहरुको योगदानबाट वि.सं.२०४६ सालको जनआन्दोलनले विगतमा गुमेको बहुदलीय शासन व्यवस्थालाई मुलुकमापुनःस्थापित गरिदिएको थियो ।

मलाई जानकारी भएसम्म उहाँले वि.सं. २०३६ सालबाट सार्वजनिक जीवन आरम्भ गर्नु भएको हो र २०७७ सालसम्म आइपुग्दा एउटा अलग्गै पहिचान मात्र बनाउनु भएको छैन व्यक्तित्वको नयाँ उचाई स्थापित गरिसक्नु भएको छ । सामान्य कार्यकर्ताको अवस्थाबाट राजनितिमा सहभागीता जनाउनु भएका मित्रसेन दाहालले नेपाली काँग्रेस ओखलढुंगाको संगठन  निर्माणमा पुर्र्याउनु भएको योगदान हरेक ओखलढुंगे काँग्रेस जनहरुका लागि प्रशंसनीय र स्तुत्य मात्र छैन, अतुलनीय समेत छ । पछिल्लो समय उहाँलाई नेपाली काँग्रेसले बि.सं.२०७४ सालको निर्वाचनमा ओखलढुङ्गको प्रदेशसभा क को टिकट दिई उम्मेदवार बनाएर आफ्नो नेता मानिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने विगतमा उहाँलाई अन्याय गरेको भए पनि नेपाली काँग्रेस पार्टीले अन्ततः न्याय गरेको प्रतित हुन्छ । शिखरापुर नगरपालिको लफ्सेफेदी स्थित मैत्री सेवाश्रम राजनीति र समाजसेवाको नयाँ प्रयोग मात्र नभएर सेवा र परोपकारी सपनाको शिखर हो ।सो आश्रममा हाम्रो समाजका सबै प्रकारका मानिसहरुका लागि गाँस, वास कपासको मात्र नभएर आधुनिक चिकित्सास्वास्थ्य सेवा सहितको समृद्ध जीवन यापनको गन्तब्यका रुपमा स्थापित भइसकेको छ । समृद्ध आश्रमको रुपमा विकास गर्न सरोकारवालाहरु सबैसंग सहयोगको अपेक्षा सहित क्रियाशील अग्रज राजनीतिज्ञ तथा समाजसेवी मित्रसेन दाहाल बिश्रमहीन बनेर लगन र इमान्दारसाथ खटिरहनु भएको अवस्थामा सबै स्वजन र मित्रहरुलाई छाडेर महाप्रस्थान गर्नु भएको छ । उहाँको देहावसानसंगै नेपाली कांग्रेस ओखलढुंगाले अपुरणिय क्षति बेहोर्नुपरेको छ यतिमात्र नभएर आज मैत्री सेवाश्रम र उहाँको अगुवाईमा आ–आफ्नो उद्देश्यकालागि निरन्तर अभ्यस्त समस्त शुभचिन्तक,सहयोगीहरु अभिभावकबिहीन बन्न पुगेका छौं !

यस दुःखद घडीमा हृदयदेखि नै उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु !!

हार्दिक श्रद्धाजलि मित्रसेन दाइ !

तपाई हाम्रो स्मृतिमा सदा वॅाचिरहनु हुनेछ, तपाईको आत्मालाई बैकुण्ठवास मिलोस !!