समाचार

हामी न्यायालयको फैसला मान्न तयार छौ–उपप्रधानमन्त्री पोख्रेल

By Bala Adhikari

February 23, 2021

चितवन, फागुन ११ गते प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ, हामी न्यायालयको फैसला मान्न तयार छौ, बताए ।

‘न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौं भनेर कसले भन्छ र ‘न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?’ अहिलेसम्म सरकारले गरेका हरेक निर्णयहरु संविधानको सम्मान गरेर गरेको उनले भने ।

शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरूले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दीगो हुन नसकेको पोखे्रलको गुनासो थियो ।

‘राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो,’ उनले प्रश्न गरे, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’

निर्वाचन तोकिएकै समयमा नै हुन्छ, यसलाई हुन नदिनका लागि कुनै खालका कोसिस नगर्न सबैलाई उनले आग्रह समेत गरे। यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने र यो निर्वाचन ताजा जनादेशका लागि हो, यो सबैको हितमा हुन्छ, उनको भनाइ थियो।