काठमाण्डौ,फागुन १६ गते ५० वर्ष बिरामीको सेवामा बिताएका नेपाली कांग्रेसका पूर्वसांसद डा.शंकरप्रसाद उप्रेतीको शनिबार राती निधन भएको छ। उनी कांग्रेस झापाका पुराना नेता पनि हुन्।
२०४६ सालपछि उप्रेती कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभा सांसद भएका उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटकपटक जेलसमेत परेका थिए ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति निकालेर उप्रेतीको निधनमा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको उल्लेख गरेका छन्।
‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले विज्ञप्तिमा उल्लेख गरेको छ ।