समाचार

दाह संस्कारका लागि दाउरा निःशुल्क उपलब्ध गराउने–वन मन्त्री आले

By Bala Adhikari

March 01, 2021

काठमाण्डौ,फागुन १७ गते राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुई दिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने र निःशुल्क दाउरा उपलब्ध गराउने बताएका छन्।

यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागु गरिने उनको भनाई छ। उनले भने, ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ। यसैपल्ट यो लागू गर्दैछौँ।’

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए। कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए। उनले भने, ‘अपन जु को रुपमा कन्सेप्ट मैले अगाडि बनाएको छु। कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडि बढाएको छु। यो अगाडि बढाउनुपर्छ कि भनेर मैले मेरो मन्त्रालयमा छलफल अगाडि बढाइसकेको छु।’

उनले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताए। कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए।