माया पन्त
जाजरकोट, भदौ २६ । भाईरल ज्वरोको संक्रमणले थलिएपछि त्रिवेणी नलगाड ११ का नरबहादुर ध्यार गाँउ नजिकै चौखामा रहेको एक मेडिकलमा गए । औषधी किनेर खाएपछि उनी निको भए । नजिकै रहेको स्वास्थ्य चौकीमा गएनन् । उनी भन्छन् सरकारी स्वास्थ्य संस्थाको औषधीले कामै गदैन । निजीको औषधीले केही समयमै काम गरिहाल्छ । केही समय अघि छोरी विरामी भएकी थिई । स्वास्थ्य चौकीमा गएर औषधी ल्याए । छोरीलाई खुवाए तर विसेक भएन । फेरी मेडिकलबाट ल्याएको औषधीले निको भई ।
त्रिवेणीनलगाड १२ का परिमले कामी पनि घरका परिवार विरामी हुने वित्तिकै निजी मेडिकल जाने गर्दछन् । सरकारी स्वास्थ्य चौकीमा औषधी नै पाईदैन । निशुल्क दिएको औषधीले पनि कामै गदैन उनले भने त्यही भएर म खर्च लागेपनि निजी मेडिकलमै जान्छु ।
ध्यार र कामी जस्तै प्राय जसो जाजरकोट बासी उपचारको लागी निजी मेडिकल धाउन बाध्य छन् । सरकारी स्वास्थ्य संस्था प्रतिको विश्वास घट्दै गएको छ । ‘सरकारी स्वास्थ्य संस्थाको औषधी र निजी मेडिकलको औषधीको गुणस्तरमा खासै फरक नपर्ने तर निजी मेडिकलले शुरुमै हाई डोजको औषधी चलाउँदा तत्काल प्रभाव देखिएको हो’ जिल्ला अस्पतालका डा. शिवकुमार झाले भने–‘हामी विरामीको अवस्था हेरेर सामान्य औषधी प्रयोग गछौ निको हुन केही समय लाग्छ । एकै पटक कडा डोज प्रयोग गदैनौ तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकै पटक कडा खालका औषधी प्रयोग गर्छन ।’ चिकित्सकको अनुमति विना कडा खालका एन्टिवायोटिक औषधी विक्री गर्न नै मिल्दैन तर जाजरकोटका मेडिकलवालाले आफै विरामी चेक गर्ने र मनोमानी तरीकाले औषधी दिने गरेको छन् ।
यद्यपी, कतिपय कम्पनी अनुसार औषधीको गुणस्तरमा फरक पर्ने कुरा भने डा.झा स्वीकार गर्छन । सरकारी स्वास्थ्य संस्थामा पठाउने औषधी स्वास्थ्य विभाग अन्र्तगत केन्द्रिय मेडिकल स्टोर आपुर्ती महाशाखाले खरीद गर्ने र क्षेत्रिय मेडिकल स्टोर मार्फत जिल्लामा पठाउने गरिएको छ । औषधी टेण्डर प्रक्रियाबाट खरीद गरिने गरिएको छ । औषधीको गुणस्तर कमजोर भएपनि सप्लायर्स सँग कमिशन लेनदेनका आधारमा बोलपत्र स्वीकृत गर्ने र मिलेमतोमा सोही अनुसार आषधी सप्लाई हुने भएकोले सरकारी औषधीको गुणस्तरमा प्रश्न चिन्ह खडा हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ । त्यसका अलावा केही औषधी जिल्लाले नै खरीद गर्ने गरि बजेटको ब्यवस्था गर्ने गरिएको छ । जिल्लाले खरीद गर्ने औषधी पनि घटाघटमा गर्ने र गुणस्तर मापन नगरी भौतिक परिणाम मात्र चेकजाँच हुने गरेको छ । जसका कारण औषधी कमसल खालको आउने सम्भावना धेरै देखिएको छ । गत बर्ष मात्र जाजरकोटमा जिल्लाले ४५ लाख र क्षेत्रिय मेडिकल स्टोरले करीव दुई करोडको औषधी पठाएको थियो । त्यति ठुलो परिणाममा औषधी जिल्लामा भित्रिदा पनि दुर्गमका स्वास्थ्य संस्थाहरुका सधै औषधीको अभाव हुने गरेको छ ।
सरकारले स्वास्थ्य चौकीबाट ४८ , प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधी निशुल्क दिने घोषणा गरेको छ । तर कुनै पनि स्वास्थ्य संस्थामा सवै प्रकारका प्रयाप्त औषधी कहिल्यै पाईदैनन् नागरिक समाज जाजरकोटका अध्यक्ष केशव जंश शाहले भने ‘नागरिकलाई निशुल्क औषधी दिने भनेर सरकारी बजेट सकिएको सकिएै छ तर निमुखा नागरिकहरु अहिले पनि निजी मेडिकल जान बाध्य छन् ।’ एकातिर निजी मेडिकलले नागरिकको आर्थिक शोषण गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्यमा खेलवाड । पैसा कमाउने नाउमा हाईडोज औषधी दिएर मानिसको स्वास्थ्य विगारी रहेका छन् यसतर्फ सरकारको ध्यान कहिले जाला शाहले चिन्ता ब्यक्त गरे ।
जाजरकोटका गाँउ पिच्छे निजी मेडिकल छन् । जिल्लाभर निजी मेडिकल पाँच सय बढी छन् तर धेरैजसो अवैध रुपमा संचालनमा छन् । मेडिकल राख्नको लागी फार्मेसी पढेको र औषधी ब्यवस्था विभागबाट स्वीकृति लिएको हुनु पर्ने प्रावधान छ तर यहाँ ९५ प्रतिशत मेडिकल नियम विपरीत संचालन भैरहेका छन् । स्वास्थ्य सम्बन्धी सामान्य ३५ दिने नर्मल तालिम लिएकाले पनि मेडिकल संचालन गरिरहेका छन् । नियमनकारी निकायले यस तर्फ कुनै चासो नलिदा गाँउ गाँउमा मनोमानी तरीकाले अवैध मेडिकल धमाधम खुलिरहेका छन् ।
सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नहुँदा निजी मेडिकलहरु मालामाल भएका छन् । स्वास्थ्य संस्थाको मागका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले औषधी दिने गरेको छ तर कतिपय स्वास्थ्य संस्थाले औषधी नै माग गर्न नआउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका स्टोरकिपर लमबहादुर खड्काले बताए । जिल्लाका प्राय ठाँउमा औषधी गईरहेको छ तर सधै अभाब मात्र भन्ने गुनासो सुनिन्छ उनले भने गत साउनमा मात्र चार लाख पारासिटामोल ट्याबलेट स्वास्थ्यचौकीहरुमा खपत भएको छ । यातायातको असुविधाले गर्दा कतिपय औषधी सवै ठाँउमा पठाउन नसकिएको बताए । सेवा दिउ । काम गरौ भन्ने स्वास्थ्यकर्मी हुने ठाँउमा अभाव देखिदैन । कामचोर स्वास्थ्यकर्मी हुने ठाँउ औषधी अभाव देखिन्छ खड्काले भने सलाईन ( आर एल ) लगायतका धेरै तौल हुने औषधी दुर्गममा पठाउनै गाह्रो हुने गरेको छ । समयमा औषधी गाँउका स्वास्थ्य संस्थाले नलिदा जिल्लाको स्टोरमा थन्किएको छ । गाँउमा सधै औषधीको अभाव भैरहन्छ तर केही समय अघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले भ्याद सकिएको ठुलो परिणामको औषधी नष्ट गरेको थियो । – चिकित्सकको अनुमति विना मनोमानी तरीकाले एन्टिवायोटिक प्रयोग – कडा औषधी सेवनले मानव स्वास्थ्यमा गंभिर असर – कमिशनको चक्करमा सरकारी औषधीको गुणस्तरमा आशंका – यातायातको असुविधाले ढुवानी समस्या