समाचार

२३गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको–सभामुख सापकोटा

By Bala Adhikari

March 02, 2021

काठमाण्डौ,फागुन १८ गते संघीय संसद् भवन नयाँबानेश्वरस्थित संसद् बैठक कक्षको अवलोकनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख अग्निप्रसाद सापकोटाले भोलि देखि नै दलका नेताहरुसँग छलफल सुरु गर्ने र संसद् बैठकका एजेन्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार–विमर्श र परामर्श गर्ने,प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका एजेन्डाबारे दलहरुसँग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

उनले भने, “स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दै छौं । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो–खल्लो भएको थियो अहिले सबै उत्साही हुनुहुन्छ ।

संसद् बैठकका एजेन्डाहरुको सम्बन्धमा सबै पक्षसँग, पार्टीका नेताहरुसँग, कार्यव्यस्था परामर्श समिति पनि छ, सबैसँग विचार, विमर्श, परामर्श गर्दै छु भोलिदेखि तालिकाबद्ध रुपमा ।“