समाचार

नेपाल पत्रकार महासंघमा विपुल प्यानल विजयी

By Bala Adhikari

April 10, 2021

काठमाण्डौ,चैत्र २८ गते नेपाल पत्रकार महासंघमा प्रगतिशील लोकतान्त्रिक विपुल पोख्रेल अध्यक्षसहितको कार्यसमितिमा प्रगतिशील लोकतान्त्रिक प्यानल नै निर्वाचित भएको छ।

पोख्रेलले प्रधानमन्त्री केपी ओली पक्षधर दल नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन्, पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत ल्याएकी छिन् । पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष थिए। दाङबाट पत्रकारिता थालेका पोख्रेल प्रेस युनियनमा लामो समयदेखि सक्रिय छन्। उनी झन्डै ३० वर्षदेखि पत्रकारितामा छन्।

चैत २५ गते भएको चुनावपछि तीन दिनयता जारी मतगणना शनिबार अपराह्न सकिएको थियो।

५१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी सबै पोख्रेल नेतृत्वको गठबन्धनबाट निर्वाचित भएका छन्।

कार्यसमितिमा तीन जना सदस्यबाहेक सबै पोख्रेल प्यानलबाट निर्वाचित भए। तीन सदस्यीय लेखासमिति पनि पोख्रेल पक्षको गठबन्धनबाट निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र अर्को स्वतन्त्र एक निर्वाचित भए।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ६७४१ मतसाथ निर्वाचित भए, उनले प्रेस चौतारीका माधव नेपाललाई पराजित गरे। नेपालले ३७८१ मत ल्याए।

उपाध्यक्ष महिलामा बाला अधिकारी ७२२६ मतका साथ निर्वाचित भइन्,उनिले प्रेस चौतारीकी दाना के सी (सुबेदी) ले भने ३५२८ मत ल्याइन् । प्यानलमा सबै भन्दा बढी मत भने अधिकारीको नै छ ।

उपाध्यक्ष समावेशीमा उदय जीएम निर्वाचित भएका भने महासचिवमा रोशन पुरी ६२४२ मतका साथ निर्वाचित भएका छन्,उनले प्रतिद्वन्द्वी शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे। बस्नेतले ३८६० मत ल्याए,सचिव खुल्लामा गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।

 

सचिव महिलामा सृजना अर्याल, आदिवासी सचिव नारायण सुन्दर किलम्बू, सचिव मधेसीमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, सचिव एसोसिएटमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन्।

तीन सदस्यीय लेखा समितिमा लेखनाथ न्यौपाने, मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भएका छन्।

महासंघको केन्द्रीय निर्वाचनमा कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधवकुमार नेपाल पक्षधर प्रेस चौतारीको चुनावी तालमेल थियो। यसलाई अग्रगामी प्रजातान्त्रिक प्यानल भनिएको थियो।

केन्द्रमा यो तालमेल भएपछि अधिकांश जिल्ला र प्रदेशहरूमा पनि यही प्यानल एक भएर चुनाव लड्यो। केन्द्रमा खुला सचिव चौलागाईं र दलित सचिवमा विक नेपालनिकटबाट निर्वाचित हुन्।

जितपछि अध्यक्ष पोख्रेलले पत्रकारहरूले आफ्नो संस्था ठान्ने गरी श्रमजीवी पत्रकारको हित र प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने बताए।

यो कसैको विजय र पराजय हैन। निर्वाचनका सन्दर्भमा भएका गठबन्धन चुनाव जित्ने रणनीतिका रुपमा भएका हुन्, समग्रतामा जसले जिते पनि पत्रकार, पत्रकारिताको हितसँग सम्बन्धित सबै एजेन्डामा सबै साथीहरुसँग छलफल भएका छन्,मैले समग्र पत्रकारितालाई नयाँ उचाइको रुपमा लैजाने अवसरको रुपमा लिएको छु पोख्रेल ।