अस्ट्रेलियाको लोकप्रीय शैक्षिक संस्था (हाम्रो कलेज) किंग्सटन इन्स्टिच्युटले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ ।
अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले एक सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोगको आह्वान गरेपछि इन्स्टिच्युटका सञ्चालक झापा निवासी दिपक खनालले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका संयोजक समेत खनाल थिए । उनकै अगुवाई संसारभर रहेका झापालीले २५ लाख जुटाउन सहयोग गरेका थिए ।
झापा बिर्तामोड निवासी खनाल झापाली समाज अस्ट्रेलियाका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि पनि सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ सहयोग गरिसकेका छन् ।
झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।
अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।