कभर स्टोरी

खोपको पहिलो र दोस्रो मात्रको अन्तर कति हुनु पर्छ ?

By Bala Adhikari

June 24, 2021

अन्तर प–यो भने के फरक पर्छ ? काठमाडौं । आस्ट्राजेनेका, फाइजर र स्पुतनिकसहित अहिले उपलब्ध अधिकांश कोभिड–१९ खोप निश्चित अन्तरालमा दुई मात्रा लगाएपछि मात्र पूर्ण रूपमा प्रभावकारी हुन्छन् भनिन्छ । कोरोनाभाइरसको सङ्क्रमणबाट आफ्ना नागरिकलाई जोगाउन राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहँदा यही प्रावधान समस्याका रूपमा देखा पर्न सक्ने देखिएको छ ।

आपूर्तिको समस्या, कच्च पदार्थ र उत्पादनसम्बन्धी चुनौती एवं सामाजिक विषयका कारण धेरै ठाउँमा खोपको दोस्रो मात्रा उपलब्ध हुन सकेको छैन । यतिखेर गम्भीर बिरामी हुनबाट बच्नका लागि खोप नै सबैभन्दा उपयुक्त माध्यम हो– स्कटिश सरकारका सल्लाहकार पनि रहेका यूनिभर्सिटी अफ एडिन्वराका प्राध्यापक देवी श्रीधरले भनेकी छन् ।

महामारीका बीचमा नयाँ र थप संक्रामक भेरिअन्टहरू देखा पर्न सक्ने भन्दै स्कटल्यान्डले पहिलो र दोस्रो पटक कोभिड खोप दिने समयावधि घटाएको छ । एउटा त्यस्तो उदहारण डेल्टा भेरिअन्ट हो जुन सबैभन्दा पहिले भारतमा देखा परेको थियो । अध्ययनहरूले त्यो पहिले यूकेमा पहिचान भएको अल्फा भेरिअन्टभन्दा ६० प्रतिशत बढी सङ्क्रामक रहेको देखाएको थियो ।

कोभिड खोपको दोस्रो मात्रा किन चाहिन्छ ? कुनै खोप पूर्ण प्रभावकारी हुन एकभन्दा बढी मात्रा चाहिनु सामान्य कुरा हो । अमेरिकामा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले बालबालिकालाई पोलियोको चार मात्रा लिन सिफारिस गरेको छ भने दादुरा, गलगाँड र रुबेलाको खोपको पनि दुई मात्रा लिनुपर्छ ।

खोपको पहिलो मात्राले रोगबाट केही सुरक्षा दिने भए पनि दोस्रो मात्रा लगाएपछि उच्च तहको प्रतिरक्षा निर्माण हुन्छ । पब्लिक हेल्थ इङ्ग्ल्यान्डले एप्रिल र मे महिनाबीचमा बेलायतमा १४ हजार व्यक्तिमा गरेको सर्वेक्षणमा फाइजर र आस्ट्राजेनेकको पहिलो मात्रा खोप लिएकामा डेल्टा भेरिअन्टविरूद्ध ३३ प्रतिशत मात्र प्रभावकारिता पाइने देखाएको थियो ।

तर पछि एउटा परीक्षणले फाइजर वा आस्ट्राजेनेकाको एक मात्रा खोप लगाएकाहरूलाई कोभिड संक्रमणले अस्पताल भर्ना हुनुपर्ने सम्भावना ७५ प्रतिशतले घट्ने देखाएको छ । संक्रमण सर्ने सम्भावना खासगरी डेल्टा वा भारतमा फैलिएको भेरिअन्टको हकमा अलि बढी भए पनि अस्पताल पुग्नुपर्ने अवस्था रोक्न भने एक मात्राले पनि राम्रै नतिजा दिएको बताइएको छ ।

दोस्रो मात्र खोप लगाएपछि फाइजरका हकमा ८८ प्रतिशत र आस्ट्राजेनेकाको हकमा ६० प्रतिशत प्रभावकारिता रहेको पाइएको छ । अस्पताल भर्ना हुनेगरी गम्भीर रूपमा बिरामी हुनबाट बच्नका लागि दुवै मात्र उच्च रूपमा प्रभावकारी पाइयो । अनि अर्को चासोको विषय के पनि हो भने दोस्रो मात्रा खोप नलगाइँदा भाइरसले खोपलाई छल्ने काम जारी राख्ने र धेरै मानिसमा फैलिने पाइयो ।

प्राध्यापक श्रीधरका अनुसार स्कटल्यान्डको उद्देश्य कोभिड–१९ “व्यवस्थापन गर्न सकिने स्वास्थ्यको विषय“ बनाउनका लागि संक्रमित र अस्पताल भर्ना हुने मानिसबीचको क्रम भङ्ग गर्नु हो ।