कभर स्टोरी

बेल्जियम र चेक अन्तिम आठमा, पोर्चुगल र नेदरल्याण्ड पराजित

By Bala Adhikari

June 28, 2021

एजेन्सी । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा भित्रिएको छ । स्पेनमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन ।

पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए । ंत्यसैगरी उपाधि दाबेदार मानिएको नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा भित्रिएको हो । हंगेरीमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्याण्ड १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।

बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।