काठमाडौं । देशैभरका विभिन्न भागमा भारी वर्षाको सम्भावना देखिएकाले नदी किनारका बस्तीहरुलाई सचेत गराइएको छ । हिजोदेखि मनसुन थप सक्रिय भएको र शनिबारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो । बिहीवार भने बुधवारको दाँजोमा यी प्रदेशका अलि बढी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले बताएकी छन् । “केही स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रमा पानी पर्छ ।
शुक्रवार दिउँसोदेखि कर्णाली प्रदेशमा अत्यधिक वर्षा कम हुने र रातिदेखि प्रदेश नम्बर २ मा पनि अत्यधिक वर्षाको सम्भावा टर्दै जाने विभागले जनाएको छ । उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताइन्छ । यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ ।
मनसुन शुरु भएको पहिलो सातामै देशका विभिन्न भागमा पहिरो र बाढीका कारण जनधनको क्षति भएका खबरहरू आएका थिए । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण हेलम्बु र मेलम्ची बजारका थुप्रै परिवार अन्यत्र सर्न बाध्य भए भने कतिपय परिवार घरबारविहीन भएको बताइन्छ ।
अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको मौसमविद्हरुले बताएका छन् । “यसअघि परेको पानीले नै माटो गलाइसकेको छ । त्यसमाथि भारी वर्षा हुँदा जोखिम धेरै छ । २०७२ सालमा भूकम्प गएपछि सरकारले विभिन्न क्षेत्रको सहायतामा पहिरो जोखिमको अध्ययन थालेको थियो । उक्त अध्ययनका आधारमा पहिरोको उच्च, मध्यम र सामान्य जोखिम निर्धारण गरिएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला, कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन् । जोखिममा रहेका जिल्लामा खास गरी गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट रुकुमलगायत छन् । प्राधिकरणका प्रमुख अनिल पोखरेलले उच्च जोखिम रहेका जिल्लामा सावधानी अपनाउन भनिसकिएको छ ।
स्थानीय तहमार्फत वर्षा र जोखिमको जानकारी दिने व्यवस्था मिलाइएको मौसमविद्हरुले बताएका छन् । बाढी आउँदा पूर्वसूचना दिने प्रणाली आठ वर्षअघि जडान गरिएको थियो । यो वर्षदेखि पहिरोका लागि पनि जोखिम रहेका नौ वटा जिल्लामा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पूर्वसूचना दिने अभ्यास हामीले थालेका छौँ ।