दृष्टिकोण

ने.का. १४ औं महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय समिति प्रवेशका लागि दुई दर्जन महिलाको दौडधुप

By Bala Adhikari

July 08, 2021

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा धेरै नयाँ अनुहारहरु केन्द्रीय समितिमा प्रवेश गर्न चौडधुप थालेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको नेतृत्वमा रहेकाहरु मूल पार्टीको केन्द्रीय समितिमा छिर्न भेटघाट, छलफल र दौडधुप बढाएका छन् ।

कांग्रेसको नयाँ विधान अनुसार खुल्लातर्फ महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसैगरी प्रदेशबाट एक एक जना गरि ७ जना महिलाहरु केन्द्रीय समितिमा आउने छन् । उसोत आरक्षणतर्फ दलित ४, जनजाती ७, खसआर्य ६, मधेशी ४, थारु ४ र मुस्लिम १ गरी ४० जना महिला नेतृहरु केन्द्रीय सदस्य चुनिने छन् । त्यसैगरी पदाधिकारीमा एक जना सहमहामन्त्री महिला हुने व्यवस्था नयाँ विधानले गरेको छ ।   नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि कम्तिमा पनि २०, २५ जना महिला पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाउनेछन् ।

पार्टीको १४ औं महाधिवेशनमा खुल्ला, प्रदेश र खसआर्य कोटाबाट उमेदवार बन्नका लागि नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री प्रतिमा गौतम, ट्रेड युनियन कांग्रेसकी पूर्व उपाध्यक्ष रिता खनाल, महिला नेतृ मृदुला कोइराला, नेपाल विद्यार्थी संघकी पूर्व उपाध्यक्ष विजुला बर्मा, महिला नेतृहरु मञ्जु खाँड, आरुजु राणा देउवा, विद्यार्थी नेतृ इन्दिरा तिवारी, संविधानसभा सदस्य रिता शाही, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, विद्यार्थी नेतृ विनिता अधिकारी, तरुण दलकी नेतृ लक्ष्मी खतिवडा, नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियालगायत नेतृहरु न्वारनदेखिको बल निकालेर लागेका छन् ।

त्यस्तै आदिवासी जनजातीको कोटाबाट पूर्व विद्यार्थी नेतृ कुसुम थापा, काठमाडौं महानगरपालिकाकी उपमेयर, हरिप्रभा खड्गी, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, राष्ट्रियसभा सदस्य विन्दा राना, खोटाङकी संविधानसभा सदस्य सरस्वती वजिमय, तरुण दलकी नेतृ जीवन डंगोललगायतले उमेदवार बन्ने तयारी छन् । त्यसैगरी दलित तर्फको आरक्षणमा विद्यार्थी नेतृ सिता मिजार र संविधानसभा सदस्य विमला नेपाली पहिलो पटक केन्द्रीय सदस्यका लागि उमेदवार बन्ने तयारीमा छन् भने मधेशी तर्फबाट राष्ट्रिय सभा सदस्य मुक्ता यादव र नेतृ रेखा यादव उमेदवार बन्ने तयारीमा रहेको देखिन्छन् । थारु कोटामा भने अहिलेसम्म नमिता चौधरीले तयार थालेकी छन् ।