काठमाडौं । कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार छन् । महिनौंदेखि घरभित्रै सीमित हुनुपर्दा धेरैलाई छट्पटी भएको छ । यो समयमा उनीहरुलाई सबैभन्दा बढी सुटिङ सेट मिस भइरहेको छ । फेरि कहिले एक्सन–कटमा रमाउन पाइन्छ भन्ने प्रतिक्षामा कलाकार छन् ।
तर, अझै केही समय फिल्म क्षेत्रमा कुनै प्रकारको गतिविधि हुने सम्भावना न्यून छ । गत वर्ष लकडाउन अन्त्यपछि केही कलाकारले फिल्ममा काम गरे । तर, अभिनेत्री आना शर्माले तीन वर्षदेखि सुटिङ सेट देख्न समेत पाएकी छैनन् । २०७५ सालमा उनी अभिनीत फिल्म ‘द म्यान फ्रम काठमान्डू’ रिलिज भएको थियो । फिल्ममा हलिउडदेखि बलिउड कलाकारसम्मको अभिनय थियो । आनालाई फिल्मप्रति ठूलो आश थियो ।
तर, दुर्भाग्य ! फिल्मले हलमा घुँडा टेक्यो । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्मको रुपमा ‘ग्यांगस्टार ब्लूज’ मा काम गरेकी थिइन् । हालै निर्माता पौडेलले स्क्रिप्टमा छलफल गर्न आनासँग भेट गरेका थिए । उक्त भेटको तस्विर इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै आनाले काममा फर्किन आफू आतुर रहेको उल्लेख गरेकी छन् ।
अभिनेत्री शर्माले लेखेकी छन्, ‘सेटमा फर्किन र अनुप पौडेलसँग साथमा काम गर्न अब प्रतिक्षा गर्न सक्दैनँ ।’ उनी काममा फर्किन कतिसम्म आतुर छिन् भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ । हुनपनि, तीन वर्षदेखि कामविहीन भएर बस्नु परेको छ ।
साइन गरेको फिल्म पनि छायांकनमा जान ढिलाई हुँदा प्रतिक्षा गर्न जो कोहीलाई गाह्रो हुन्छ । तर भनिन्छ नी, ‘प्रतिक्षाको फल मिठो हुन्छ ।’