कभर स्टोरी

भूकम्पले क्षतिग्रस्त भवनमा जोखिम मोल्दै पठनपाठन गर्नुपर्ने बाध्यता

By Bala Adhikari

September 14, 2017

खोटाङ, भदौ २९ । खोटाङमा भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवनहरुको पुननिर्माण हुन नसक्दा त्यहाँका विद्यार्थीहरुलाई जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पञ्चकन्या आभारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयको भवन पुनः निर्माण हुन नसक्दा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता भएको हो । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि कुनै निकायबाट सहयोग नपाउँदा त्यहाँका विद्यार्थीलाई जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन गरिनुपर्ने विद्यालय परिवारले जनाएको छ । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले पञ्चकन्या आधारभूत विद्यालय खाम्लाको तीनकोठे भवनको पूर्वपट्टिको गाह्रो चर्किएर दुई ठाउँ धाँजा छुटी जीर्ण छ ।

भूकम्पले चर्काएको विद्यालय भवनको गाह्रोबाट ढुंगा÷माटो निस्किएर भ्वाङ परेपछि भित्रबाट बाहिर देखिने प्वाल बनेको छ । कक्षा १ देखि ३ सम्मका २४ जना विद्यार्थीलाई सोही जीर्ण भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेकोे त्यस विद्यालयका प्रधानाध्यापक गणेश राईले जानकारी दिए ।

वर्षातको भलबाढीसम्म पस्ने जनकल्याण आधारभूत विद्यालय हुर्लुङको भवनको हालत पनि उस्तै नाजुक रहेको छ । भूकम्पले ठाउँठाउँमा चिराचिरा बनाएको तीनकोठे भवनमा १ देखि ३ सम्मका २३ जना विद्यार्थीलाई आफूसहित जोखिम मोलेर पठनपाठन गराउनुपरेको प्रधानाध्यापक कल्पना भुजेलले बताइन् ।

भूकम्पको क्षति विवरणसहित जिल्ला शिक्षा कार्यालयको स्रोत केन्द्रमा पेश गरिए पनि साना तथा ‘घ’ वर्गमा परेका विद्यालयका संरचनालाई सहयोग नदिँदा पुनः मर्मत गर्न नसकिएको बताइएको छ ।