काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहका पाँच सांसद् अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा सामेल भएका छन् । पार्टी कार्यालय बालकुमारीमा आज बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सामेल भएका थिए ।
त्यसैगरी सांसद रुही नाजले पनि आफू यादव पक्षमा नै रहेको र उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको जसपा सांसद मृगेन्द्रकुमार सिंह यादवले जनाएका छन् । संसदीय दलको अनौपचारिक बैठकमा संसदमा निर्वाह गर्ने भूमिका बारेमा छलफल भएको यादवले जनाएका छन् ।
त्यस्तै उनले निर्वाचन आयोगले पार्टीको बिषयमा निर्णय गरेपछि संसदीय दलको नेता चयन लगाएतको प्रक्रिया सुरु गर्ने पनि प्रस्ट्याएका छन् । जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो हुने देखिएको छ ।
३२ सांसदमध्ये अब यादव पक्षमा १७ सांसद पुगेका छन् भने ठाकुर पक्षमा १५ जना सांसद मात्र बाँकी छन् ।