आर्थिक

नविल बैंकले ऋणपत्र निश्कासन गर्ने

By Bala Adhikari

July 18, 2021

काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले साउन १० गतेदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा बिक्री गर्ने जनाइएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।