काठमाडौं । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण स्थगित मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज (साउन ५ गतेदेखि) पुनः आवेदन खुल्ला गरिएको छ । कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ लकडाउनका कारण रोकिएको थियो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ६० लाख कित्ता साधारण शेयर निष्काशन भएको हो । निष्काशन गरिएको कूल शेयरमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने नागरिकका लागि बाँडफाँट गरिनेछ ।
बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकले आवेदन दिन पाउनेछन् । सेयरको निष्काशन छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गते बन्द हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने बढीमा ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिने छ ।