कभर स्टोरी

कोभिडका कारण स्थगित कक्षा १२ को परीक्षा साउन ३१ बाट

By Bala Adhikari

July 21, 2021

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोभिडका कारण रोखिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेबाट सुचारु हुने भएको छ । हिजो मंगलबार बसेकोराष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय छ ।

उक्त कुरा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिएका हुन् । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना भाइरस संक्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित गरिएको थियो ।

यस पर्षको परीक्षामा सय पूर्णाङ्कै भौतिक उपस्थितीमा सम्पन्न गर्ने तयारी रहेको अध्यक्ष पौडेलले बताएका छन् । गत वर्ष बोर्डले ४० प्रतिशतका लागि भौतिक उपस्थितिमा परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा लिएको थियो ।

यो विधिको सर्वत्र आलोचना भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्यका मापदण्डलाई पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।