कभर स्टोरी

मुस्लिम धर्मावलम्बी दोस्रो महान् पर्व बकर–इद

By Bala Adhikari

July 21, 2021

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लाससाथ मनाइँरहिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी  मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अली बताउँछन् ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताए । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत सहज छैन।

जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घरघरमै बकर इद मनाउने छन् । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने तयारी गरिएको छ । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ ।

यसै कारण अहिलेसम्म कुर्बानी गने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो ।

सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए ।

यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ ।

एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।