Uncategorized

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

By Bala Adhikari

July 21, 2021

काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइने भएको छ । खोप अभियानमा काठमाडौं जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिएका छन् ।

अहिले खोप लगाउनका लागि काठमाडौंका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताएका छन् । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । बिहीबारसम्म लगाइने खोप सुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ ।

नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । खोप ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज बुधबार चीनतर्फ प्रस्थान गरेको छ । चीनले यसअघि नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो ।