भक्तपुर, भदौ ३० । भक्तपुरमा दशैंको अवसर पारेर आजबाट दशैं मेला सुरु भएको छ ।
भक्तपुरको सल्लाघारीमा सुुरु भएको ‘हाम्रो दशैं’ मेलाको विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले उद्घाटन गरेका छन् । चन्द्र सूर्य इभेन्ट प्रा.लि.द्वारा आयोजित मेला आजबाट असोज ५ गतेसम्मका लागि संचालन हुनेछ । मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानिय उत्पादनदेखि विभिन्न देशी बिदेशी उत्पादनहरु रहेका पाइन्छ भने, सांस्कृतिक झाँकि प्रहसन र मेला अवधिभर नेपालका चर्चित गायक गायिकाका साथै हाँस्य कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने मेला संयोजक रोजिन मिश्रले जनाए ।
स्थानीय उत्पादन प्रमुख रहने मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स जस्ता सामानहरु पाइन्छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको उनले बताए ।
मेलामा विद्यार्थीको लागी प्रवेश शुल्क ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ । जेष्ठ नागरिक र पाँच बर्ष मूनिको हकमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । उक्त मेलामा विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका मानिसहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
उक्त मेलामा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । सो मेलामा विभिन्न खालका सामग्रीहरु राखिने १ सय १३ स्टल रहेका छन् ।