कभर स्टोरी

भारतमा कोरोना संक्रमणबाट ४ लाखभन्दा बढीको मृत्यु

By Bala Adhikari

July 24, 2021

काठमाडौं । भारतको दिल्ली सरकारको स्वास्थ्य विभागले ३१ जुलाईसम्म सरकारी खोप केन्द्रमा दोस्रो डोज खोप (कोभिशिल्ड) मात्र लगाइने जानकारी दिइएको छ । किन भने कोभिशिल्ड खोपको अभाव भएको छ । १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

यता, कोरोना भाइरसको डेल्टा भेरियन्ट विरुद्ध फाइजर र अस्ट्राजेनेका खोपको दुई डोज प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा गत बुधवार प्रकाशित अध्ययन रिपोर्टमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध फाइजर र अस्ट्राजेनेको दुई डोज लगाएका व्यक्तिमा प्रभावकारी देखिएको उल्लेख गरिएको छ ।

डेल्टा भेरियन्टविरुद्ध फाइजरको दुई डोज लगाएका व्यक्तिमा खोप ८८ प्रतिशत प्रभावकारी देखिएको अध्ययनमा देखिएको छ । यस्तै, अस्ट्राजेनेको दुई डोज डेल्टा भेरियन्टविरुद्ध ६७ प्रतिशत प्रभावकारी देखिएको उक्त जर्नलमा उल्लेख छ । यसअघि पब्लिक हेल्थ इंग्ल्याण्डले डेल्टा भेरियन्टविरुद्ध भ्याक्सिनको पहिलो डोज ३३ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२३, जुलाई) मा २० लाख २७ हजार ८३३ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ४४१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २२, जुलाईमा १७ लाख १८ हजार ४३९ जनाको नमुना परीक्षण गर्दा ३४ हजार ८६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ५३६ जनाको निधन भएको छ । २२, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ४८१ जनाको निधन भएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १३ लाख ३१ हजार १४५ जना छन् ।

२०७८, साउन ९ गतेसम्ममा भारतले ४५ करोड २९ लाख ३९ हजार ५४५ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ९ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ४ लाख ९५ हजार ३५२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १५ हजार ७५५ जना छन् ।

पछिल्लो २४ घण्टामा ३५ हजार ४८ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कुल संक्रमितमध्ये ४ लाख २० हजार ३८ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।